न्यूनतम ज्याला १५ सय रिंगेट बनाएको प्रति मलेसिया सरकारको प्रधानमन्त्री दाहालद्धारा प्रशंसा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका हुन् ।“मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’’ उनले भने, “यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’’
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट बृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिए। यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए । प्रधानमन्त्री दाहालले मलेसियामा नेपाली श्रमिकहरू इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।
प्रधानमन्त्री दाहालले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिए । प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यवसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागिसमेत दुबै देशले मिलेर काम गर्नुपर्ने बताए ।
छलफलपछि दुबै पक्षबीच नेपाल र मलेशियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ । यसका लागि दुबै पक्षका सम्बन्धित र निकायले आपसी सहकार्य गर्नेछन् ।
भेटका अवसरमा दुबै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भानाहरूमा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार