माइधार(झापा) । किरात याक्थुङ् चुम्लुङ्कका संघीय अध्यक्ष प्रेम येक्तेनले याक्थुङ्हरुको थरीय एकता विना लिम्बू/याक्थुङ् जातिको संमृद्धि असम्भव हुने बताएका छन् ।
किरात योङ्हाङ् कुलवंश प्रतिष्ठान केन्द्रीय समिति झापाको आयोजनामा माघ २० गते माइधारमा आयोजित ३४ औं साक्मुरा (गालीसराप) वदेम्मा तथा २७ औं साधारण सभालाई सम्बोधन गर्दै येक्तेनले सो कुरा बताएका हुन् । प्रमुख अतिथिसमेत रहेका येक्तेनले समुद्घाटन मन्तव्य राख्नुहुँदै चुम्लुङ्ले गर्दै गरेको प्रारम्भिक सर्वेक्षण अनुसार लगभग साढे तीन सयको हाराहारीमा रहेको लिम्बू/याक्थुङ् थरहरुले आ-आफ्नो थात्-थलो, माङ्गेन्ना यक् लगायत आफ्नो वंश थरसँग सुरक्षित रहेको इतिहास र ऐतिहासिक पुरातात्विक विषयवस्तुहरु उजागर गर्ने काम धमाधम भइरहेकोमा योङ्हाङ् थरले वंशावली प्रकाशन गरेर ऐतिहासिक काम गरेको कुरा बताए । लिम्बू याक्थुङ् जातिको पुर्खाहरुले स्थापित गर्दै ल्याएका सभ्यतालाई आत्मसात गरेर लिम्बू याक्थुङ् समाजलाई संमृद्धशाली बनाउने कुरा अहिलेको पुस्ताको काँधमा आइपरेकोले सम्पूणर् थरीय एकता भएर काम गर्नुको विकल्प नरहेको उनले बताए । आदिवासी लिम्बू/याक्थुङ् जातिहरु अबको दिनमा धार्मिक, सांस्कृतिक, भाषिक र आन्तरिक विभेदमा अनावश्यक बहसमा अल्झेर आफ्नो बौद्धिकता र समय खेरो नफाली आफ्नो कुल वंश र सिङ्गो लिम्बू/याक्थुङ् जातिको संमृद्धिमा अघि बढ्नु नै आजको आवश्यकता रहेको उनले औंल्याए । 
विशिष्ठ अतिथि शिवसताक्षी नगरका नगर प्रमुख मेघाहाङ् थोप्रा (रोशन) ले आफ्नो वंश सुधार्न सकेमा मात्र देश र जनताको उन्नति र प्रगति हुने कुरा बताएका छन् । हिल्लीहाङ् फाउण्डेशनका अध्यक्ष हर्क योङ्हाङ्ले योङ्हाङ्हरुको उच्च शिरको रुपमा संस्थापन हुँदै आएको हिल्लीहाङ् दरवारलाई आन्तरिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सम्पूणर् योङ्हाङ् वन्धुहरु कमर कसेर लाग्नु पर्ने कुरामा जोड दिए । वंशावली सम्पादनका संयोजक अमृत योङ्हाङ्ले वंशावली सम्पादन गर्दा आइपरेका कठिनाइहरुको बावजुद पनि वंशावली प्रकाशन गर्न सकिएकोमा खुशी व्यक्त गरे ।
समारोहमा योङ्हाङ् कुलवंशमा योगदान दिनुहुने रामप्रसाद योङ्हाङ्, लक्ष्मी योङ्हाङ्, नन्दराज योङ्हाङ्, देउमान योङ्हाङ्, टेकबहादुर योङ्हाङ्, पदमबहादुर योङ्हाङ्, स्व. पदमबहादुर योङ्हाङ्, स्व. नरबहादुर योङ्हाङ् लगायतका महानुभावहरुलाई सम्मान गरिएको थियो भने गायिका सविना योङ्हाङ् र पत्रकार जीवन योङ्हाङ्लाई पनि सम्मान गरिएको थियो ।


125 पटक हेरिएको 








