भीमकुमार बाँस्कोटा
फिदिम । नेपालीहरुको एउटा परम्परागत मान्यता छ कि ‘पहाडमा विकास छैन, त्यसैले मानिसहरु बसाइँ जान्छन् ।’ अचेल यो मान्यताभन्दा ठिक उल्टो भएको छ, ‘पहाडमा बिकास छ तर, पनि मानिसहरु पहाडमा अडिएका छैनन् ।’
पहाडका गाँउसम्म भौतिक विकासको लहर छ । ग्रामीण क्षेत्रसम्म बिजुली पुगेको छ । मोटर गाडी गुड्ने सडक बनेको छ । प्रत्येक घरमा खानेपानीका धाराहरु बनेका छन् । हरेक वाडमा स्वास्थ्य संस्था खुलेका छन् । तर, पनि पहाडमा मानिसहरु अडिएका छैनन् । किन ? प्रश्न पेचिलो छ ।
‘बसाइँ हिड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ भन्ने गीतलाई पूर्वी पहाडी जिल्ला पाँचथरको बसाइँसराइले चरितार्थ गरेको छ । पहाडी गाँउमा क्षमतावान मानिसहरु कमै भेटिन्छन्् । गाँउघरमा मलामी पाउन पनि मुस्किल छ । पहाडको जनसंख्या बृद्धिदर ऋणात्मक छ । २०७८ सालको जनगणनाको प्रारम्भिक बिवरण अनुसार पाँचथरको जनसंख्या बृद्धिदर (—०.९१५) ऋणात्मक छ ।
जिल्लाको जनसंख्या एक लाख ७४ हजार चार सय १९ जनामा झरेको छ । यो बिवरण यसअघिको जनसंख्या भन्दा १७ हजार तीन सय ९८ जनाले कमी हो । २०६८ सालको जनगणना अनुसार पाँचथरको जनसंख्या एक लाख ९१ हजार आठ सय १७ थियो ।
जिल्लाको जनसंख्या घट्नुको मुख्य कारण बसाइँसराइ नै हो । स्थानीय तहका पञ्जिकरण शाखाको तथ्यांक अनुसार बिगत तीन बर्षमा पाँचथरका आठ वटा स्थानीय तहबाट १३ हजार ४३ जना बसाई सरेर अन्यत्र गए ।
फिदिम नगरपालिकाबाट चार बर्षको अवधिमा नौ सय ५५ घरका दुई हजार नौ सय ८८ जना बसाई गए । फालेलुङ गाँउपालिकाबाट चार बर्षमा चार सय ४१ घरका एक हजार चार सय ६० जना बसाई गए ।
मिक्लाजुङ गाँउपालिकाबाट तीन बर्षमा एक सय ४४ घरका एक हजार पाँच सय ४४ जना अन्यन्त्र गए । चार बर्षमा एक हजार पाँच सय ७९ जनाले हिलिहाङ गाँउपालिका छाडे । तीन बर्षमा एक हजार दुई सय ४१ जनाले फाल्गुनन्द गाँउपालिका छाडेको पञ्जिकरण शाखाको तथ्यांकमा उल्लेख छ ।
चार बर्षमा पाँच सय २३ घरका एक हजार छ सय ६८ जनाले याङवरक छाडेका छन् । बिगत दुई बर्षमा तुम्बेवा गाँउपालिकाबाट तीन सय ८२ घरका एक हजार ५१ जना अन्यत्र गए । कुम्मायक गाँउपालिकाबाट चार बर्षमा पाँच सय ३१ घरका एक हजार पाँच सय १२ जना बसाई गए । बसाइँसराइ दर्ता नगराई गएकाहरु पनि धेरै छन् । तीनिहरुको स्थानीय सरकारसँग रेकर्ड छैन् ।
२०७८ सालको जनगणनाको प्रारम्भिक बिवरण अनुसार फिदिमको जनसंख्या ४८ हजार सात सय १३ जनमा झरेको छ । जुन २०६८ सालको जनगणनाको बिवरण भन्दा चार सय ८८ जनाले कमी हो ।
फालेलुङको २० हजार ५३१, फाल्गुनन्दको २१ हजार २५३, हिलिहाङको २० हजार ५३७, कुम्मायकको १३ हजार २०, मिक्लाजुङको २१ हजार ३२८, तुम्बेवाको ११ हजार ६३ र याङवरकको १६ हजार ८२८ छ । सबै पालिकामा जनसंख्या घटेको हो ।
यसअघिको बिवरण अनुसार फालेलुङमा २१ हजार ८८४, फाल्गुनन्दमा २४ हजार ६०, कुम्मायकमा १६ हजार ११८, मिक्लाजुङमा २४ हजार ६१५, तुम्बेवामा १३ हजार ४१९ र याङवरकमा १८ हजार २८१ जनसंख्या थियो ।
फिदिमलाई जिल्लाकै सुगम नगरपालिकाको रुपमा लिइन्छ । सदरमुकाम समेत रहेको फिदिम बजारलाई नेपाल सरकारले नमुना शहरको रुपमा बिकास गर्ने योजना सञ्चालन गरेको छ । फिदिममा पूर्वाधार विकासको काम तीब्र गतीमा भईरहेको छ । तर पनि बसाइँ जाने क्रम रोकिएको छैन् ।
पूर्वाधारको बिकास भएर पनि गाँउमा मानिसहरु नआडिएको कुम्मायक गाँउपालिकाका अध्यक्ष बमप्रसाद लावतीको भनाई छ । ‘ग्रामीण क्षेत्रसम्म बिकास भएको छ, सेवा सुविधाहरु घर आँगनसम्म पुगेको छ,’ लावती भन्छन् ‘भौतिक बिकासले पनि गाँउको बसाइँसराइलाई रोकेको छैन् ।’
अधिकांश मानिसहरु शिक्षा, स्वास्थ्य र रोजगारीको खोजि गर्दै बसाइँ जाने गरेको तुम्बेवा गाँउपालिका अध्यक्ष बाबुराम खड्का बताउँछन् । ‘सामाजिक सुरक्षा र अवसरको खोजि गर्दै मानिसहरु बसाइँ जाने गरेका छन्,’ खड्का भन्छन् ‘क्षमतावान मान्छेहरु पहाडबाट पलायन भईरहेका छन् ।’
बसाइँसराइको यो दृश्यले विकास भनेकै सडक, बिजुली र पानी (भौतिक बिकास) ठान्ने भाष्यमा प्रश्न सिर्जना भएको देखिन्छ । गतिलो शैक्षिक संस्था र भरपर्दो स्वास्थ्य उपचारको अभावले पहाड छाड्नेको संख्या बढेको समाजका अगुवाहरुको ठम्याई छ ।
‘पहाडको स्वास्थ्य र शिक्षालाइ गुणस्तरिय नबनाएसम्म बसाइसराइ रोकिन्न,’ बिद्यार्थी नेता तुलसी आचार्य भन्छन् ‘कतिपय मानिसहरु सामाजिक रुपमा असुरक्षित महशुस गरेर पनि बसाइँ गएको देखिन्छ ।’
पहाडमा उद्योम, इलम र रोजगारी गर्ने अवसर र वातावरण नबन्नु बसाइँसराईको प्रमुख कारणमध्ये एक हो । सरकारले उद्यमशीलतालाई गाँउसम्म पु¥याउन नसक्दा र पहाडको उत्पादनलाई बजारीकरण गर्ने प्रणालीको बिकास नगर्दा आज पहाडको बिकास र जनसंख्याको सन्तुलन खल्बलिएको छ ।-जोरपाटी डटकम


117 पटक हेरिएको 












