प्रदेशव्यापी आम हड्ताललगायत कार्यक्रम सार्वजनिक

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै फागुन २८ गते प्रदेशव्यापी आम हड्ताल निर्णय गरेको छ । समितिले फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने लगायत कार्यक्रम गर्ने र फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस र चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ । लिम्बुवान किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति , किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा मंगलबार र बुधबार (फागुन २३, २४) भएको बैठकले सो निर्णय गरेको हो । अन्दोलनरत समितिहरुको बैठकले संघर्ष समितिको नाम परिवर्तन गर्दै प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समिति राखिएको चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेन जनाए । बैठकमा किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, किरात सगरमाथा नामाकरण शान्तिपूर्ण नैतिक दबाब समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिबासी जनजाति महासंघको पूर्ब महासचिव आङ्काजी शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, जनता समाजवादी पार्टीका रमेश राई, लिम्बुवानका नेता सञ्जुहाङ पालुङ्वा, खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय उपाध्यक्ष दिलराम राई, किरात लिम्बुवान नामकरण दबाब समुहको अध्यक्ष प्रेमदिप थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो । बैठकमा समाजिक तथा राजनीतिक संगठनका नेताहरुले आन्दोलनको उठान, प्रभाव, संभावना चुनौतीहरु बारे बोलेका थिए ।
आन्दोलनमा गोपाल किराती नेतृत्वको संगठन, मंगोल नेशनल अर्गनाइजेसन, कोच, धिमाल, याक्खा, सुनुवार, पहिचान पक्षधर एमाले, कांग्रेस, माओवादी लगायतका घटक संगठनहरुलाई जोड्दै जाने र प्रदेश नंंं.१ को मात्र नभएर बाँकी छ वटै प्रदेशको पुनः नामाकरणको मुद्धा उठाउन पहल गर्नुपर्ने वक्तारुले बिषय राखेका थिए ।
फागुन २४ काठमाडौंमा अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतित्वमा बसेको नेपाल आदिबासी जनजाति महासंघ संघीय समितिको बैठकले १ नं. प्रदेशको आन्दोलनलाई नैतिक र भौतिक समर्थन, सहयोग गर्ने निर्णय भएको महासचिव दिवस राईले बताए । प्रदेश नं। १ को नाम कोशी खारेजीको लागि हुने आन्दोलनमा सहभागि हुन महासंघको १ नं। प्रदेश, जिल्ला समितिहरुलाई सर्कुलर जारी गरिएको महासंघले जनाएको छ । महासंघले न्याय र स्वतन्त्रताको आन्दोलन गाउँगाउँबाट गठ्न र उठाउन आव्हान समेत गरेको छ । किरात मोर्चाले २६ गते पनि हड्तालको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार