विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा प्रदेश राजधानी विराटनगरमा आइतबार विशाल प्रदर्शन गरेको छ । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले चर्को नारा लगाउँदै निषेधित क्षेत्र तोडेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको थियो । तर सो निषेधित क्षेत्र छोडेर प्रदर्शनकारी रोडशेष चोकदेखि तोडेर मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।
प्रदर्शनमा प्रदेशका १४ वटै जिल्लाबाट हज्जारौंको संख्यामा प्रदर्शनकारीहरुले ‘कोशी’ खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’, ‘हिक्मत कार्की मुर्दावाद’, ‘पहिचान विरोधी होसियार’ लगायतका नारा लगाएका थिए । निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो । प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिए । चार जना प्रर्दशनकारी पक्राउ परेका छन् । उनीहरुलाई चार वजे रिहा गरिएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निशेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको भए पनि कोही घाइते नभएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी रन्जीतकुमार दाहालले बताए । प्रदर्शनकारीले मुख्यमन्त्रीको पुत्ला दहन समेत गरेका छन् । प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शन गरेको हो ।
संयुक्त संघर्ष समितिले ‘कोशी’ प्रदेश विरुद्ध, रोडशेष चोक, जनआन्दोलन चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघसहित त्यसमा आबद्ध आदिवासी जनजाति संगठन, संघ र संस्थाहरू एवं पहिचान पक्षधर राजनीतिक दलहरूका आदिवासी मोर्चाहरू सहभागी थिए । प्रदर्शनकारीहरु गणतन्त्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा पुगेका थिए ।
कार्यक्रममा पूर्व मन्त्री गोपाल किराती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनसहित पहिचानवादी अभियान्ताहरु सञ्जुहाङ पालुङ्वा, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङ लगायतले सम्बोधन गरेका थिए ।


203 पटक हेरिएको 








