पथरी । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाजेहाङ लिम्बु को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ।

आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बिज्ञप्ति जारी गर्दै सो माग गरेको हो । बिज्ञप्ति मा भनिएको छ, `सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाजेहाङको शव यात्रा जस्तो मृत्यु संस्कारमा प्रहरीले गरेको नृशंस आक्रमण र निहत्था मलामीमाथि घरका छतमाथिबाट रबरका गोली र अश्रुग्यासले आक्रमण गर्नु गम्भीर मानवअधिकार उलङ्घनको कुकृत्य भएकाले यसमा मानअधिकारकर्मीहरू समेतले ध्यान दिन ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ ध्यान आकर्षण गराउँदछ ।´

वैशाख ९ गते नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद ‘लाजेहाङ’को अन्त्येष्टि संस्कार खातिर धरानदेखि – इटहरी – विराटनगर –बेलबारी रुटमा शव यात्रा गर्ने समय र प्रक्रिया बारेमा प्रहरी प्रशासनसँग समन्वय गरेको अवस्थामा समेत शव यात्रा गरिरहेको अवस्थामा विराटनगर रोडशेषमा पुग्दा प्रहरीले एक्कासी अवरोध गरी घरका छतबाट दर्जनौँ रबरका गोली र सयौँ अश्रुग्यास सेलहरू प्रहार गरी मलामीहरूलाई घाइते बनाएको साथै मृत्यु संस्कार कर्म गर्नमा पुर्याएको अवरोधप्रति संघर्ष समितिले खेद व्यक्त गर्दै तीब्र निन्दा गरेको छ ।

शव यात्रामा सहभागी निहत्था मलामीहरूमाथि प्रहरीले अन्धाधुन्द रबरका गोली र अश्रुग्यास प्रहार गर्दा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष देवान राईको टाउकोमा चोट, इटहरीकी दया राईको खुट्टोमा गम्भीर घाउ, किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनको ढाडमा घाउ, इटहरीका डेनिज राईको हात फ्रयाक्चर, सन्त (राजकुमार) सेर्माको खुट्टोमा गहिरो घाउचोट, विराटनगरका चन्द्रकुमार राईको खुट्टोमा गम्भीर घाउ, मनिता याक्खा, ताप्लेजुङका मोमु केछाङ, खगेन याक्खा लगायतलाई गम्भीर घाउचोट लागेर उपचाररत रहेको बताइएको छ ।
संघर्ष समिति प्रदेश नाम कोशी खारेज गरी ऐतिहासिक पृष्ठभूमि तथा प्राचीन सभ्यता र पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर्नुपर्ने माग गर्दै आएको छ ।
संघर्ष समितिको कार्यक्रम येस्तो थियो

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को बैठक बैशाख ५ गते बसी पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय थियो । अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२:३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउँदै २:३० बजे सहिद लाजेहाङको घर बेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने कार्यक्रम तय गरिएको थियो ।
संघर्ष समितिको अबको कार्यक्रम
आज (बैशाख १० गते) इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
कहिले भयो लाजेहाङ्को निधन
प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङ सुक्वाबाको निधन भयो । चैत ५ गते बिराटनगरमा भएको जनप्रर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा लाठीचार्जबाट टाउको गम्भीर चोट लागेका लाजेहाङ्को निधन भएको हो । उपचाररत लाजेहाङको चैत १० गते शुक्रबार विहान २:३० बजे बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो ।


169 पटक हेरिएको 












