बुद्धशान्ति(झापा) । नेकपा एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष सुवास नेम्बाङविरुद्ध प्रदर्शन गरिएको छ ।
बुधबार नेकपा एमालेले बुद्धशान्ति ३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेका हुन् । किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकका अनुसार शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अवरोध गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको छ । झडपमा २ प्रहरी घाइते भएका छन् भने एक आन्दोलनकारी पक्राउ परेका छन् । घाइते हुनेमा ईलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सुविन राजबङ्शी रहेको जिल्ला प्रवक्ता डिएसपी खगेन्द्र रिजालले बताए । पक्राउ पर्नेमा संघीय लिम्बुवा पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र रहेका छन् ।आन्दोलनकारीहरुले ‘कोसी प्रदेश खारेज गर्’, ‘केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउदै कालो झण्डा प्रदर्शन गरेका थिए ।


101 पटक हेरिएको 












