काठमाडौं । कोशी प्रदेश नामाकरण गरेसङ्गै पुर्वमा आन्दोलन जारी छ । हिजोदेखि कोशी विरुद्ध आन्दोलनरत पहिचान पक्षहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कालो झन्डासहित विरोध प्रदर्शन गरिरहेका छन् । आज दिउँसो तेह्रथुममा पानी ट्यांकीको उद्घाटन गर्न पुगेका ओलीको विरुद्ध र पक्षमा नाराजुलुस सहित प्रदर्शन गरेको देखियो ।
कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले तेह्रथुमको आठराई गाउँपालिकास्थित पोखरी छातेढुंगा मार्गमा कालो झन्डा देखाउँदै ओलीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले एमाले उपाध्यक्ष सुवास नेम्वाङविरुद्ध पनि नाराबाजी गरेका थिए ।पहिचान विरोधी होसियार, कोशी नाम मान्दैनौँ, सम्पूर्ण पहिचानवादी एक हौँ, केपी ओली मुर्दावाद, लिम्बु गद्धार सुवास नेम्वाङ मुर्दावाद जस्ता नारा लगाएका थिए ।
सोही प्रदर्सनको काउन्टर गर्दै एमाले समर्थकहरुले पनि प्रदर्सन गरिरहे । जनताको बहुदलीय जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नारा घन्काएका थिए ।
दुई प्रदर्शनकारी समूहको बीचमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । ओली कार्यक्रम सकेर फर्केपछि अहिले त्यहाँको स्थित सामान्य भएको छ ।


189 पटक हेरिएको 












