भिक्टोरिया क्रस’बाट विभूषित बेघाको उच्च सम्मानको साथ अन्त्येष्टि

दमक नगरपालिकाले दियो आज शोक बिदा 
दमक । बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी)बाट सम्मानित दमकका रामबहादुर बेघा लिम्बूको पार्थिव शरीर आज अन्त्येष्टि गरिएको छ ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा  ८८ बर्षको उमेरमा गत बैशाख ९ गते बिहान ३:४५ बजे निधन भएका बेघाको ब्रिटिश राजकीय सम्मान को साथ दमक ६ , झापा स्थित आफ्नै माङ्हिम को जग्गामा अन्त्येष्टि गरिएको हो ।
बि.स. १९९२ साल साउन २१ गते च्याङ्थापु २ पेरुङ्गे पाँचथरमा जन्मिएका बेघा, बि.स.२०१४ साल कार्तिक २५ गते बृटिस सेनामा प्रवेश गरि इन्डोनेसियाविरुद्धको लडाइँमा वीरता प्रदर्शन गरेको भन्दै सन् १९६६ जुलाई १२ गते भिसीबाट बिभूषित भएका थिए ।१३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए । दमक ८ का स्थायीबासिन्दा उनका दुई श्रीमती मध्ये हाल श्रीमती पुनिमाया र चार छोरा छन् । बेघा मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट अस्वस्थ्य थिए । अनेरी क्याप्टेन समेत रहेका स्व. भिसी वेघाको पार्थिव शरीर आज विहान ११ वजे विशेष सम्मानका साथ गरिएको  गोर्खा वेलफेयर कार्यालयले जनाएको छ । अन्त्येष्टि पूर्व आइतवार विहान ७ वजेदेखि ११ वजे सम्म दमक ८ स्थित उनको निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको र त्यसपछि दमक ६ स्थित उनकै आफनो नीजि किरात माङहिममा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको हो । अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी ) एम.भि.ओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले अन्त्येष्टि कार्यक्रममा व्रिटीस सैनिकका उच्च अधिकारी, पूर्व वेलायती सैनिकका अधिकारीहरु लगायतको  समेत उपस्थिति रहेको जनाए । श्रद्धाञ्जलीसहित अन्त्येष्टिका कार्यक्रमलाई थप व्यवस्थित बनाउन सय बढी स्वमसेवकहरु परिचालन गरिएको प्रतिष्ठानका अध्यक्ष थेवेले बताए ।


ललितपुरमा रहेकाे मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए । छ महिनादेखि बिरामी भएका बेघा झापामा रहेकाे बिएण्डसी अस्पतालमा ठीक नभएपछि  तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए । बिरामी बेघालाई नखिपोटमा रहेकाे घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उहाँलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।  बेघाको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाण्डौ लगिएको थियो ।

दमक नगरपालिकाले बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय विदा दिएको छ ।
नगरपालिकाको आज बसेको बैठकले उनको शोकमा एक दिनका लागि दमकमा स्थानीय विदा दिईएको कार्यवहाक नगर प्रमुख भिमप्रसाद पौडेलले बताए । शोकमा नगरपालिकाको कार्यालयसहित मातहतका कार्यालयहरु बन्द रहने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार