विराटनगर । जेठ १४ गते हुने भनिएको बिरोध प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले विराटनगरको मुख्य ५ स्थानलाई निषेधित क्षेत्र तोकिएको छ ।
प्रदेश पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म, प्रदेश प्रमुखको कार्यालय तथा निवासको वरपर ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित गरेको हो । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलूस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’ आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ ।
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेसङ्गै त्यसको असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।


73 पटक हेरिएको 








