बिराटनगर । कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले राजीनामा दिएकी छिन् ।
जनता समाजवादी पार्टी (जसपा)नेपालबाट निर्वाचित लिम्बुले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारबाट बाहिरिएको घोषणा गरेकी हुन् । कोशी नामाकङ्न विरुद्धको आन्दोलन पहिचान पक्षधरहरुले निरन्तर गरिरहेको बेला राजीनामा दिनुपर्ने माग पार्टी भित्र र बाहिरबाट उठाउदै आएको थियो ।हिजो कोशी सरकारबाट बाहिरिने निर्णय जसपा प्रदेश समितिले गरेको थियो। लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।
जसपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादी केन्द्र नैतिक दबाबमा परेकाे छ । यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रुपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएकाे समर्थन फिर्ता लिने आग्रह गरेकाे थियाे ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् । एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर सभामुख बाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।


143 पटक हेरिएको 








