५ करोड ५६ लाख रकम फर्छयौट गर्न बाकी
पथरी । आ.व.२०७५/०७६ देखि २०७८/०७९ सम्ममा भएको बेरुजु २५ करोड ३२ लाख मध्ये पथरी शनिश्चरे नगरपालिकाले आ.व. २०७९/८० मा १८ करोड ७६ लाख बेरुजु फर्छयौट गरि सकेको प्रबक्ता नवीन कार्कीले जनाएका छन् ।
१३ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सोमबार सार्बजनिक गर्दै नगरपालिकाले अब ५ करोड ५६ लाख रकम फर्छयौट गर्न बाकी रहेको देखिन्छ । असार १० गते भएको नगरसभाबाट ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँ बजेट सर्वसम्मत रुपमा पारित भएको वडा नं. ८ का वडा अध्यक्ष समेत रहेका कार्कीले जानकारी गराए । उनले गत आ.व.को तुलनामा संघीय तथा प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा प्राप्त हुने सशर्त अनुदान समपुरक अनुदान र विशेष अनुदानमा १०.८३ प्रतिशत कटौती गरी बजेट सिलिङ प्राप्त हुन आएका कारण ७१ करोड, १७ लाख, ४१ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नु बाध्यत्मक परिस्थितिको उपज भएको जानकारी गराएका छन् । आर्थिक विधेयक २०८० (करका दर) स्वीकृत गरिएको, स्थानीय वन ऐन २०८० कार्यपालिका बैठकबाट पारित भई नगर सभामा पेश हुँदा दफावार छलफल भई स्वीकृत गरिएको, विधियोजन विधेयक २०८० स्वीकृत गरिएको जनाएका छन् । उनले आन्तरिक आय र समपुरक अनुदानबाट वडा कार्यालयबाट प्राप्त बजेट सिलिङ तथा नगरको बजेट सिलि मार्फत शिक्षा क्षेत्रमा २ करोड ५० लाख, ४६ हजार, स्वास्थ्य क्षेत्रमा १ करोड ८९ लाख २५ हजार, कृषि क्षेत्रमा १४ लाख १० हजार, पशुपंक्षी विकासको क्षेत्रमा ३९ लाख, लक्षित वर्गमा १ करोड १९ लाख, ७६ हजार १ सय छैसठ्ठी, सुदृढीकरणको क्षेत्रमा २६ लाख र बाँकी रकम पूर्वाधार निर्माण, मर्मत् सम्हार तथा विपद् व्यवस्थापनको क्षेत्रमा विनियोजन गरिएको जनाएका छन् । त्यस्तै युवा तथा खेलकुदको क्षेत्रमा ३७ लाख २० हजार, सहकारी÷ उद्यमशीलता र प्रधानमन्त्री रोजगार कार्यक्रममा १७ लाख, ’नगरपालिकाको सहयोग र भर, घर विहिनलाई सुरक्षित घर’ कार्यक्रम मार्फत् प्राथमिकताको घर विहिन नगरवासीहरुको सुरक्षित घर निर्माण गरिने उनले जनाएका छन् ।
त्यसैगरी `पारिवारिक वीमा विपन्नलाई, सुलभ उपचार नागरिक सबैलाई’ कार्यक्रम मार्फत् करिब १२ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने, प्राविधिक शिक्षामा अनुदान, सक्षम जनशक्ति उत्पादन’ कार्यक्रमबाट भागीरथ मावि र मदन भण्डारी प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक ऋण उपलब्ध गराइने, अन्तर स्थानीय तहसँगको सहकार्यमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने, नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाउने, गाई तथा भैसीलाई निःशुल्क कृत्रिम गर्भधारण कार्यक्रम सञ्चालन, श्रमिक हित कोष र विपन्न बालबालिका सहायता कोषको स्थापना, विपन्नसँग उप–मेयर कार्यक्रमको सुरुवात गरिने, सवै सामुदायिक विद्यालयहरुलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने नीति अवलम्बन गरिएको उनले जानकारी दिएका छन् ।
त्यस्तै ‘कृषि क्षेत्रको विकास, पथरी शनिश्चरे नगरमा रोजगारीको निकास’ भन्ने नाराका साथ विदेशबाट फर्केका र स्वदेशमा कृषि उद्यम गर्न चाहने युवालाई लक्षित कार्यक्रमहरु समावेश गरिने, दीर्घरोगीहरुलाई फलफुल खर्च स्वरुप १५ हजार आर्थिक सहयोग गर्ने, महिलाहरुको आङ्ग खस्ने समस्या मुक्त नगरपालिका निर्माण गर्ने नयाँ नीति लिइएको पत्रकार सम्मेलनमा उनले बताएका छन् ।
गर्भवती महिलाहरुलाई क्याल्सियम चक्की र नवजात शिशुहरुलाई रोगहरुको संक्रमणबाट जोगाउन किटनाशक झुल वितरण, नगर भित्रका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई कोशी प्रदेश भित्रको कुनै पनि अस्पतालसम्म उपचारमा जानका लागि एम्बुलेन्स भाडा निःशुल्क, नगरवासीहरुलाई कुनै पनि अस्पतालमा उपचार गराउँदा रगतको आवश्यक परेमा त्यसमा लाग्ने खर्च नगरबाट भुक्तानी दिने, पथरी बहुमुखी क्याम्पसलाई अनुदान, ‘माटो बचाउ’ अभियान अन्तर्गत माटो परीक्षण तथा उपचार शिविर सञ्चालन, जैविक मल तथा जैविक विषादी प्रयोगलगायतका नीति पारित भएको उनले जानकारी दिएका छन् ।
सार्वजनिक कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोले यो आर्थिक वर्षमा नगरको स्थानीय स्रोत ४ करोड १७ लाख संकलन भएको जानकारी दिए । प्रमुख तुम्बापोले विश्वव्यापी आर्थिक संकटको कारण सम्झौता भइसकेको र सम्पन्न भएको योजनाहरुको बजेट समेत संघ सरकारले काट्नुको साथै स्वास्थ्य कर्मचारी र शिक्षकको तलव समयमा पठाउन नसक्दा समस्या भइरहेको जनाए । बजेटमा आवासविहिन अति विपन्न परिवारलाई नगरपालिकाले दुई कोठे घर बनाइदिने कार्यक्रम रहेको नगर प्रमुख तुम्बापोले बताए ।


142 पटक हेरिएको 












