युमा साम्यो महासभा कतारले पहिलो स्थापना दिवस मनायो

तिलविक्रम थेवे
दोहा (कतार) । गत ०९ जुन २०२३ शुक्रबार युमा साम्यो महासभा कतारले एक कार्यक्रमको आयोजना गरी संस्थाको पहिलो स्थापना दिवस (वार्षिक उत्सव) भव्यताको साथ मनायो ।
आयोजकले जानकारी दिएअनुसार विदेशमा छरिएर रहेका याक्थुङ लिम्बु जातिहरु विचमा याक्थुङ लिम्बु समुदायको मौलिक धर्म संस्कार संस्कृतिको अपनत्व बढोस्, अन्य समुदायले पनि याक्थुङ लिम्बु जातिहरुको मौलिक धर्म संस्कार संस्कृतिको वारेमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । संस्थाको अध्यक्ष प्रेम आङबुहाङको सभापतित्वमा सम्पन्न स्थापना दिवसमा युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति अससका प्रतिनिधि सदस्य योगेन माखिम याक्थुङबा कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।
युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति अससका प्रतिनिधि सदस्य विष्णु केदेम, संस्थाका उपाध्यक्ष घनेन्द्र चेम्जोङ, सचिव फुलमाया लिङदेन, तमु प्ये ल्हु संघ कतारका अध्यक्ष चन्द्र ल्हेंगे गुरुङ, किरात याक्थुङ चुम्लुङ कतारका महासचिव विवस मादेन, कियाचु मानार्थ सदस्य गंगा गुरुङ, पाँचथर सेवा समाज कतारका महासचिव सागर अधिकारी, झापा सेवा समाज कतारका अध्यक्ष केशव कार्की, संखुवा सभा सेवा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल लगायत आमन्त्रित विशेष अतिथिहरुले स्थापना दिवसको शुभकामना दिएका थिए ।
शुभकामना मन्तव्यमा आमन्त्रित अतिथिहरुले आफुहरुले याक्थुङ लिम्बु समुदायको धर्म, संस्कार संस्कृतिको विषयमा अझ थप जानकारी पाएको बताउँदै बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक राष्ट्रका हामी समुदायहरुले आआफनो धर्म संस्कार संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने बताए । युमा साम्यो महासभा कतारका उपाध्यक्ष घनेन्द्र चेम्जोङ, युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समितिका सदस्य योगेन माखिमले युमा साम्यो, याक्थुङ जातिको मौलिक धर्म युमा धर्मको वारेमा थप प्रकाश पारेका थिए ।
कार्यक्रमको विचमा प्रस्तुत गरिएको संगितिक कार्यक्रम नृत्य, गीतहरुले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार