प्रदेश प्रमुखद्वारा असार २१ गते प्रदेश  सरकार गठन गर्न आव्हान

विराटनगर । आइतबार कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका खापुङले सरकार गठनका लागि असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएका छन् ।

प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेपछि उनले आव्हान गरेका हुन् । कार्की मुख्यमन्त्रीमा  २०७९ पुस २४ गते नियुक्त भएका थिए । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनु पर्ने दाबी गर्दै आएको थियो ।

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादी, राप्रपा र जसपा आआफ्नो दाउमा लागेका हुन् । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन् । उनले पनि राप्रपा र जसपालाई फकाएर पुनः आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेका छन् । हाल विपक्षमा रहेका काँग्रेस, माओवादी, नेकपा (एस) र जसपाले भने गठबन्धन बनाएर सरकार गठन गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार