प्रायोजित समाचारप्रति शान्तिद्वारा खण्डन

पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले झुटो र प्रायोजित स्टाटस, समाचार लेख्ने व्यक्तिलाई ‘समाज विरोधी तत्व’ को रूपमा चित्रण गरेको छ ।
शनिबार समूहले पत्रकार सम्मेलन गर्दै केही दिन अघि झुटो समाचार र स्टाटस लेखेको भन्दै प्रमाणित नहुने म्याटर बनाउने व्यक्तिलाई सो संज्ञा दिएको हो । समूह विरुद्ध प्रायोजित रुपमा झुटो, काल्पनिक, भ्रमित स्टाटस र समाचार प्रकाशन गरेको भन्दै सो को खण्डन गरेको हो । प्रकाशित समाचार छेउटुप्पा नमिलेको, प्रतिशोधपूर्ण, पूर्ण झुटो रहेको समूहका कार्यबाहक अध्यक्ष हेमभक्त तमु गुरुङको भनाइ छ ।
‘समाजमा जहिले नकारात्मक चर्चा, जुन बिषयलाई पनि नकारात्मक देख्ने, आफैमात्रै जान्ने हुँ भन्ने अहंकार र समाज विरोधी तत्वले आफ्नो अनुहार राम्रोसँग हेर्नु र बुझ्नु पर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ‘संसार फराकिलो छ । लेख्न, बोल्नै पर्दा सबैको हातमा प्रविधि र सिप हुन्छ । अरु नजानेरै नबोलेको भन्ने भ्रम आजैदेखि हटाउनु पर्दछ ।’
शान्ति सामुदायिक वनको चुनावी साधारण सभा हुन लाग्दा अध्यक्षको उमेद्वार एक कार्यकाल समितिमा बसेको हुनुपर्ने कि उपभोक्ता सबैको लागि खुल्ला गर्ने भन्ने बिषयमा छलफल चलिरहेको छ । समूहको कार्यबाहक अध्यक्ष हेमभक्त तमुको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन समिति गठन भएको छ । सो समितिले कार्यसमितिमा प्रस्ताव गर्ने र त्यहाँबाट पारित भएमा साधारण सभामा छलफल गरेर आम उपभोक्ताबाट निर्णय हुने संस्थागत प्रकृया हुन्छ । प्रकाशित समाचारमा पदाधिकारीहरुको नाम उल्लेख गर्दै संस्थामा मनोमानी गरेको, घोटाला गरेको, विधान आफू अनुकुल बनाएको भन्ने झुटो विवरण प्रस्तुत गरेको भन्दै शान्तिले के बिषयमा मनोमानी भयो ? घोटाला कति, कस्ले र कसरी भयो ? विधान दुई जनाले पारित गर्ने बिषय हो ? भनेर विज्ञप्ति मार्फत प्रश्न गरिएको छ । शान्तिले प्रकाशित समाचार तथ्य, प्रमाण अगाडि राखेर दोहोरयाएर पढ्न र पुष्टि गर्न चुनौति दिएको छ । हचुवाको भरमा लेखिएको समाचारमा पदाधिकारीको नामसम्म नमिलेको उल्लेख छ । समाचार/स्टाटस लेख्ने व्यक्तिलाई कसैले प्रायोजन गर्दैमा आइन्दा प्रमाणित नहुने बिषय नलेख्न सुझाव दिएका छन् । कार्यबाहक अध्यक्ष हेमभक्त तमु, सहसचिव रोमान्सी धिमाल, कोषाध्यक्ष कुलमणि गुरुङ, सदस्य पूर्ण पाख्रिन लगायत पदाधिकारी सदस्यहरु पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार