पथरी । २९ औ विश्व आदिबासी दिवस मोरङको पथरी शनिश्चरेमा धुमधामको साथ साउन २४ गते मनाइने भएको छ ।
कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् । दिवस मनाउनको लागि नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । सो समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नगरमा भब्य रुपले विश्व आदिबासी दिवस मनाउन तयारी भइरहेको जानकारी गराएको हो ।
पथरी शनिश्चरेका नगर प्रमुख मोहन तुम्बापोको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न नेपाल आदिबासी जनजाति महासंघको पूर्ब महासचिवसमेत रहेका आङ्काजी शेर्पा आउने निश्चित भएको आयोजक समितिको संयोजक देबेन्द्र वनेमले जानकारी दिए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव तथा फोनिज संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई लगायत वक्ताको रुपमा उपस्थिति हुने आयोजनक समितिले जनाएको छ ।
कार्यक्रममा राई, लिम्बू, मगर, गुरुङ, धिमाल, भुजेल, राजवंशी, थारु, नेवार, माझी, सन्थाल, उराउ, सुनुवार, याक्खा, शेर्पा, दनुवार लगायत १८ भन्दा बढीको सांस्कृतिक नृत्य प्रस्तुत हुने आयोजक समितिको उपाध्यक्ष राजेन्द्र गुरुङले बताए। सांस्कृतिक झाँकी प्रस्तुत अघि आदिबासी जनजाति अधिकार र पहिचानसम्बन्धी प्लेकार्ड बोकेर पथरी बजार परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक समितिको सदस्य मिना भुजेलले बताइन।
दिवसलाई भब्य बनाउन कला मगर, गंगा धिमाल, गीता याक्खा, कर्मबहादुर तामाङ, कृष्णराज सुनुवार, प्रेम राई, बिक्रम लिम्बू, टंक राना मगर, अर्जुन श्रेष्ठ लगायत ३८ सदस्यीय मूल समारोह समिति र आर्थिक, प्रचारप्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वयम सेवक लगायत सात वटा उपसमिति गठन गरेको छ । विश्व आदिबासी दिवस कार्यक्रम पथरीको साकेला थानमा हुने तय भएको छ ।
प्रदेश नं. १ मा पुनः नामाङ्कनको आन्दोलन चलिरहेकोले २९ औं विश्व आदिबासी दिवसलाई अभियानको प्रचार तथा आन्दोलनकै रुपमा मनाउने तयारी भइरहेको बुझिएको छ ।
संयुक्त राष्ट्र संघको महासभाले सन १९९३ लाई विश्व आदिबासी दशकको रुपमा मनाउने निर्णय भएदेखि अगष्ट ९ मा विश्वभरका आदिबासी जनजातिहरुले दिवस मनाउदै आएको छ ।


112 पटक हेरिएको 








