विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसरमा ६ जना सञ्चारकर्मी पुरस्कृत भएका छन् ।
विराटनगरमा शनिबार भएको फोनिजको स्थापना दिवसको अवसर पारेर ६ जना पत्रकार पुरस्कृत भएका हुन् । किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास र सुजता लिम्बू पुरस्कृत भएका हुन । दिलीप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ । सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । पुरस्कृत भएका मध्ये खवास र लिम्बूलाई फोनिज प्रदेश समितिले सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री मोदीले पहिचान सहितको संघीयता ल्याउन दुई तिहाई आवश्यक रहेको बताए । दुई तिहाई मत ल्याएर प्रदेशको नामकरण सच्याउनुपर्ने बताउदै त्यसका लागि पहिचानवादी पार्टीलाई जिताउनुपर्ने मन्त्री मोदीले बताए । उनले पहिचानको पक्षधरहरुको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको बताए ।
पहिचानवादीको माग पुरा गर्नको लागि आदीवासी जनतजातिहरु एक जुट हुनुपर्ने उनले बताए । ‘आफ्नो माग पूरा गर्नको लागि आदिवासी जनजातिहरु एक जुट भएर आफ्नो अधिकार स्थापित गराउन लागि पर्नु पर्दछ,’ मन्त्री मोदीले भने ।
कार्यक्रममा आदिवासी जनजाति महासंघकी उपाध्यक्ष माया जिमी, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, फोनिजका संघीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्ल्भ घिमिरे, प्रेस चौतारीका सचिब बिक्रम लुईटेल, प्रेस सेन्टरका उपाध्यक्ष बिवेक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य बन्धु पोखरेलगायलते बोलेका थिए ।


123 पटक हेरिएको 








