सुनसरी । सिक्किमेली इतिहासहार सन्ध्या सुब्बा सिङ्जाङ्गोद्वारा लिखित पुस्तकको विमर्श धरानमा शुक्रबार गरिएको छ ।

युमा साम्यो महासभा नेपालले आयोजना गरेको कार्यक्रममा याक्थुङ (लिम्बू) सभ्यताबारे अंग्रेजी भाषामा ‘याक्थुङ सिभिलाइजेसन: इम्बिरी याङथाङ्वा पुम्मा’ (याक्थुङ सभ्यता) पुस्तक बारेमा विमर्श गरिएको हो । पुस्तकमाथि मुन्धुमी इतिहासकार अर्जुनबाबु माबुहाङ, डा. रमेश इजम, डा. राम नारायण कन्दङ्वा, अमित थेवे, हितराम तिल्लिङ, विरान लिम्बुलगायतले टिप्पणी गरेका थिए । पुस्तकबारे बोल्दै इतिहासकार सन्ध्याले याक्थुङ सभ्यता (इम्बिरी याङ्धावा) पनि ताप्लेजुङको तमोर र काभेली नदी र कन्चनजङ्घा हिमाल सेरोफोरमा विकास भएको पाइएको बताइन् । याक्थुङ सभ्यता पुस्तकमा प्राचिन तुम्याहाङ प्रणाली, भूस्वामित्व, सिलाम साक्मा, याक्थुङ साम्लो (संगीत), थाका (ढाका) तान बुन्ने कला, खाम्जी खाम्बोङसा लुङ्जिरि लुङबोङ्सा, सिरिजंगा लिपि लगायतका विषय समेटेकी छन् ।

दिल्लीको लेडी श्रीराम कलेज र दिल्ली विश्वविद्यालयमा इतिहास विधा अन्तर्गत दुई विषयमा स्नातकोत्तर गरेकी छिन् । याक्थुङ सभ्यताको निर्माण, क्रमागत विकासका खोजी, अनुसन्धान र लेखनमा बल पुगेको बताइन् । उनले भनिन्, ‘मेरो अध्ययनअनुसार याक्थुङ सभ्यता मेसोपोटामिया सभ्यताभन्दा अगाडि जान सक्ने देखेको छु । हामीले पढेका विश्वका सभ्यताहरु विकसित अवस्थाको रुपरेखामा पाएका छौं भने याक्थुङ सभ्यतामा कृषि युगको क्रमागत विकासको कुराहरु पाइएका छन् ।’
कार्यक्रममा युवा लेखिका सन्ध्यालाई आयोजकले सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।


228 पटक हेरिएको 












