काठमाडौं । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नामकरणको विरोध गर्दै आफ्नो ३५ औँ स्थापना दिवस मनाएको छ । ललितपुर, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, झापा, इलामलगायत स्थानमा स्थापना दिवस मनाएको हो ।

आइतबार ललितपुरको जावलाखेलमा जम्मा भएर च्याब्रुङ बजाउँदै र्यालीसहित विरोध प्रदर्शन गरेको हो । झण्डै पाँच सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकदेखि एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध र्यालीको आयोजना गरिएको हो । सो क्रममा प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात कायम गर, आदिवासी जनजाति एक हौं, प्रदेशको नाम कोशी मान्दैनौँ लगायतका नारा लगाइएको थियो । उनीहरूले कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने माग गरेका थिए । गत फागुन १७ गते कोशी प्रदेशको नामाकरण भएको थियो। दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो। तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ।
विरोध कार्यक्रममा कुरुम्बाङ संजुम्भो परिवार, किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमिति, लिम्बू विद्यार्थी मञ्च,याक्थुङ युवा मन्च, चेम्जोङ वंश उत्थान संघलगायतको सहभागिता रहेको थियो ।मध्यान्हको १२ बजेबाट र्याली शुरु भई दिउँसो २ बजे चुम्लुङहिम पुगेर सभामा कार्यक्रम परिणत भएको थियो ।
किरात याक्थुङ चुम्लुङ मोरङले उर्लाबारीमा स्थापना दिवस मनाएको छ । सोही अवसरमा चुम्लुङ्ले ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कियाचु याक्थुङ सहयोग कोषबाट लेटाङका मनिस लिम्बू (कक्षा-१०) लाई नगद ५ हजार, लेटाङ्कै सबिना लिम्बू (कक्षा-९) लाई ५ हजार प्रदान गरिएको थियो । त्यस्तै खेममाया सिङघक आङबुहाङ अक्षय कोषबाट बेलबारी २ की सबिना लिम्बू (कक्षा-११) र उर्लाबारी ९ का नामाहाङ निङलेकु (कक्षा-६)लाई प्रदान गरियो । उनीहरूलाई जनही १० हजार प्रदान गरिएको थियो । छात्रवृत्ति चुम्लुङ जिल्ला अध्यक्ष डम्बर कुरुम्बाङ, संघीय उपाध्यक्ष डा.कमल तिगेलाले प्रदान गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङको ३५ अौं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम झापामा समापन भएको छ ।
चुम्लुङ स्थापनाको दिन भदौ १७ गतेलाई केन्द्रविन्दू मानी भदौ १० गते शुभारम्भ गरिएको सप्ताहव्यापी कार्यक्रमलाई विर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसको सभाहलमा समापन गरिएको हो । समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संस्थापक सदस्य, पूर्व सचिव, वर्तमान संघीय सल्लाहकार तथा नायक नरप्रसाद लुम्फुङ्वाले सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै किरात याक्थुङ चुम्लुङ विर्तामोड नगर शाखाद्वारा प्रस्तुत के ला:ङ् समूहलाई जिल्ला उत्कृष्ट-२०८० घोषणा गरे ।
प्रमुख अतिथि लुम्फुङ्वाले भदौ १६ गते आयोजना गरिएको जिल्लास्तरीय के ला:ङ् प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो भएका ४ वटा के ला:ङ् समूहलाई क्रमश: ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाण-पत्र प्रदान गरे। प्रमुख अतिथि लुम्फुङ्वाले श्रीमती खेममाया सिङ्गक् आङ्बुहाङ् अक्षयकोषबाट छात्रवृति प्राप्त गर्नुहुने काकडभिट्टा माध्यमिक विद्धालयमा कक्षा १२ मा अध्ययनरत फुङ्सा लिम्बूलाई नगद रू. १० हजार, किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषबाट छात्रवृत्ति प्राप्त गर्नुहुने बालकल्याण माध्यमिमक विद्धालय मेचीनगर-५ मा कक्षा ६ मा अध्ययनरत स्नेहा लिम्बूलाई नगद रू. १० हजार र किरात याक्थुङ चुम्लुङ सहयोग कोषबाट छात्रवृत्ति प्राप्त गर्नुहुने सरस्वती मा.वि. कमल-७ मा कक्षा ९ मा अध्ययनरत सिम्रन लिम्बू र चन्द्रभानु ज्योति मा.वि. भदरपुर-३ मा कक्षा १० मा अध्ययनरत कुद्धिमान लिम्बूलाई जनही ५ हजारका दरले नगद सहित प्रशंसा पत्र प्रदान गरेका छन् ।

किरात याक्थुङ चुम्लुङमा योगदान गर्नुहुने दर्जनौं महानुभावहरूलाई सम्मान गरिएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ महिला समूह विर्तामोड-५ इन्द्रेणी टोललाई नगद रू. १० हजार ५ रूपैयाँ सहित प्रोत्साहन पत्र प्रदान गरिएको थियो । जिल्लाभरिका संगठन विस्तारमा उत्कृष्ट ठहरिएका कियाचु मेचीनगर शाखा र अक्षयकोष निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने कियाचु विर्तामोड नगर शाखालाई सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङको विशिष्ट संरक्षक सदस्य, कियाचु शिवसताक्षी ३ नं. वडा शाखालाई १ कट्ठा १० धुर नि:शुल्क जग्गा प्रदान गर्ने दुर्गाप्रसाद सम्बाहाङ्फे र धनमाया तुम्वापो सम्बाहाङ्फेलाई प्रमुख अतिथिले अभिनन्दन गरे । चुम्लुङलाई संस्थागत योगदान गर्ने दमक-१ का राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिङ् सम्बाहाङ्फे, दमक-२ निवासी कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ र कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी समारोहमा प्रदेश नं. १ को नाम कोशी खारेजी आन्दोलनमा घाईते भएका र पक्राउ परेका योद्धाहरू कमल-३ निवासी नरेन हाङ् लिम्बू, कमल-२ निवासी खड्ग पन्गेनहाङ्, दमक-५ निवासी मनकुमारी बेघा, दमक-९ निवासी जिल्ला चुम्लुङ सदस्य बन्दना नेम्बाङ् र अर्जुनधारा-६ निवासी चन्द्र साँबालाई चुम्लुङ्ले विशेष सम्मान गर्यो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि लुम्फुङवाले याक्थुङ/लिम्बू जातिको साझा संस्थाको रूपमा वि. २०४६ सालमा स्थापना गरि हालसम्म भईरहेको चुम्लुङका गतिविधीहरूको बारेमा जानकारी गराए । किरात याक्थुङ चुम्लुङ महिला समूह विर्तामोड-५ का पालामी अभियन्ता माङ्गेन्ना चेलिहरूको पालामी गुञ्जायसँगै प्रारम्भ भएको कार्यक्रममा राष्ट्रिय गायिका गंगा फियाक लिम्बू र याक्थुङ स्टारका फाइनललिष्ट दिलीप माखिमको बेजोड सांगिती प्रस्तुति रहेको कार्यक्रममा फरक आयामका कवि साङ्सेन पन्धाकले कविता वाचन गरे ।


124 पटक हेरिएको 












