राष्ट्रिय युबा संघ नेपालका अध्यक्ष थेबेले माफी माग्नुपर्छ: संघर्ष समिति

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले एमाले निकट राष्ट्रिय युबा संघ नेपालका अध्यक्ष  क्षितिज थेबेले माफी माग्नुपर्ने बताएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । `आफ्नै वर्ग, समुदाय विरुद्ध बोल्दै हिँड्ने क्षितिज थेबे विरुद्ध प्रदेशमा कालो झण्डा प्रदर्शन हुने निश्चित थियो । घट्नाको पूर्वअनुमान हुँदाहुँदै २०८० भदौ ८ गते धनकुटाको चौबिसे गाउँपालिका—६, राजारानी लगायतका क्षेत्रमा जवरजस्त आएर पहिचान पक्षधर जनतासँग निहुँ खोजेको प्रति भत्सर्ना गर्दछौँ´ विज्ञप्तिमा भनिएको छ, `संयुक्त सङ्घर्ष समितिको जायज मागलाई सम्बोधन गर्न तिर ध्यान नदिने उल्टो आन्दोलरत पक्षलाई चिढ्याउने शब्दहरू प्रयोग गर्ने केपी ओली र उनको निर्देशनमा आउने क्षितिज थेबेले माफी नमागी हिँडेमा उत्पन्न हुनसक्ने परिणामको जिम्मेवार स्वयम् हुनेछ।´

 

प्रेस विज्ञप्ति
वंश गद्दारहरू होसियार !

प्रदेश १ मा चलिरहेको पहिचानको आन्दोलन प्रदेशवासीहरूको आत्मसम्मान, न्याय र सम्मानताको आन्दोलन हो । प्रदेश नाम ‘कोशी’ खारेज नभएसम्म यो आन्दोलन कुनै हालतमा रोकिने छैन ।

पहिचान आन्दोलनको पक्षमा दिनदिनै जनसमर्थन बढ्दै गएको बेला पहिचान विरोधीले दिएको जुठोपुरो खाएको भरमा परिचालित क्षितिज थेबे जस्ता व्यक्ति निहुखोज्न आउनुले राजनीतिक जीवन उनकै लागि प्रतिउत्पादक र घातक बन्न सक्छ ।

त्यसैले ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को तर्फबाट वंश गद्दारहरूप्रति गम्भीर ध्यानाकर्षण गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।

१) प्रदेशको नाम ‘कोशी’ राख्न हस्ताक्षर गरेका ८२ प्रदेश सभा सदस्यहरू विरुद्ध कालो झण्डा देखाउने लगायतका आन्दोलनरत पक्षलाई खिसिट्युरी गर्ने, होच्याउने काम पूर्वप्रधानमन्त्री केपी ओली र क्षितिज थेबेले दिँदै आएको अभिव्यक्तिले प्रदेशलाई अशान्ति तिर लानसक्ने भएकोले सम्बन्धित पक्षको बेलैमा ध्यान आकर्षण गर्दछौँ ।

२) आफ्नै वर्ग, समुदाय विरुद्ध बोल्दै हिँड्ने क्षितिज थेबे विरुद्ध प्रदेशमा कालो झण्डा प्रदर्शन हुने निश्चित थियो । घट्नाको पूर्वअनुमान हुँदाहुँदै २०८० भदौ ८ गते धनकुटाको चौबिसे गाउँपालिका—६, राजारानी लगायतका क्षेत्रमा जवरजस्त आएर पहिचान पक्षधर जनतासँग निहुँ खोजेको प्रति भत्सर्ना गर्दछौँ ।

३) २०८० भदौ ८ गते धनकुटाको चौबिसै गाउँपालिका—६, राजारानी टुक्रे, तयालुङ चोकमा कालो झण्डा देखाउने पहिचानवादी नेता/कार्यकर्ताहरू दीवा चेम्जोङ, बुलुन लिम्बु, शुक्रबहादुर लिम्बु, सानुकुमार लिम्बु, आरामकुमार लिम्बु लगायतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पत्र लेखेर अनाअवश्यक टर्चर दिएको प्रति संयुक्त सङ्घर्ष समितिको गम्भीर ध्यान आकर्षण भएको छ । कालो झण्डा देखाउने घोषित कार्यक्रममा क्षितिज थेबे जाने अनि विरोध गर्दा प्रहरीले मुद्दा लगाउने जस्ता हर्कत तुरुन्त बन्द गरियोस् ।

४) एकल गोत्रीय ‘कोशी’ (कौषिक ऋषि) नामविरुद्ध भइरहेको आन्दोलनलाई अपमान हुने गरी दिँदै आएको अभिव्यक्तिले पहिचान पक्षधर आक्रोशित बन्दै गएकोले क्षितिज थेबेले तुरुन्त सार्वजनिक रूपमा माफी माग्नु पर्दछ ।

५) प्रदेश नं. १ को नाम ‘कोशी’ खारेज गरेर पहिचानको आधारमा राख्न किन नहुने ? पर्याप्त कारण नदिइ माफी नमागी एकल जातीय साम्प्रदायिक जातिवादी नेताको इसारामा पहिचानको विरुद्ध विष बमन गर्ने व्यक्ति क्षितिज थेबे २०८० भदौ २३—२४ सुनसरीको धरानमा आए प्रतिरोध हुने यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदछौँ ।

६) संयुक्त सङ्घर्ष समितिको जायज मागलाई सम्बोधन गर्न तिर ध्यान नदिने उल्टो आन्दोलरत पक्षलाई चिढ्याउने शब्दहरू प्रयोग गर्ने केपी ओली र उनको निर्देशनमा आउने क्षितिज थेबेले माफी नमागी हिँडेमा उत्पन्न हुनसक्ने परिणामको जिम्मेवार स्वयम् हुनेछ ।

७) असोजको पहिलो सातादेखि पहिचान आन्दोलन सशक्त रूपमा अघि बढ्ने भएको हुँदा न्यायप्रेमी सम्पूर्ण प्रदेशवासी महानुभावहरूलाई सहभागिताको लागि आव्हान गर्दछौँ ।

८) पहिचानवादी आन्दोलन चर्किंदै जाँदा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक, सामाजिक संस्थाहरूको कार्यक्रममा ‘कोशी’ शब्द नराखी कार्यक्रम गर्ने निर्णय गरेरै लागू गरिरहँदा केपी ओली र क्षितिज थेबे सहभागी हुने कार्यक्रममा किन ‘कोशी’ शब्द ठुला अक्षरमा लेख्दै आएको ? सचेत र इमान्दार एमाले नेता, कार्यकर्ताहरूले यी दुई जनालाई प्रश्न गर्न आवश्यक छ ।

९) प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा पुन: नामकरण भए प्रदेशमा शान्ति स्थापित हुन्छ । समृद्धि र समाजवादको दिशामा बढ्छ । राष्ट्रियता थप बलियो हुन्छ । तर, पहिचानको आन्दोलन बिथोल्नकै लागि निहु खोज्दै आन्दोलित भूगोलमा प्रवेश गर्ने वंश गद्दारहरू तुरुन्त नसच्चिए नेपाल र प्रदेश नं. १ मा भिषण अशान्तिको सङ्केत देखिँदै गएको हुँदा जिम्मेवार राजनीतिक पार्टीहरूका नेतृत्व वर्गले यस विषयमा समयमै ध्यान पुर्‍याउन यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौँ ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर !
प्रदेश नाम ‘कोशी’ – मुर्दावाद !
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् !
पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर !

२०८० भदौ १८ गते
प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार