प्रदेशको नामाकरण विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ:प्रधानमन्त्री

विराटनगर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको नामाकरणको विवादलाई संवादको माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् ।  `प्रदेशको नामाकरण विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ। एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउने बहाना खोजिरहेका छन्,´सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, `त्यसमा हामी सतर्क रहनुपर्छ। परिवर्तनका पक्षमा लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ।´

प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताए ।प्रधानमन्त्रीले थपे, `यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति छ। उनीहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन। त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरि देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु। विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरू गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्छौं।´

उनले यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहेको बताए । जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ´ प्रधानमन्त्रीले भनेका छन्, `आज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ। यसले जनतामा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ। यसले निरासालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ।´

सन्देश सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतले सम्बोधन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार