माङसेबुङ(इलाम) । आत्मानन्द कपको सेमिफाइनलको यात्रा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङले तय गरेको छ । आईतबार भएको खेलमा छथर गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउँदै सिरिजङगा मोरङ सेमिफाईनलमा प्रवेश गरेको हो । सञ्जय धिमालले खेलको २८ औं मिनेटमा गोल किपरसँग वान भर्सेज वानमा जाली चुमाएका थिए । सोही गोलनै तेह्रथुमलाई हराउन काफी भयो । उनै खेलको म्यान अफ दी म्याच घोषित भए । साथमा नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । ए डिभिजन लिग खेलेका बिजु भुजेल, अशोक खवास र अफ्रिकी देशका खेलाडी पेपे, जस्ता खेलाडीको साथमा उत्रेको छथर सुरुवाती समयमा नै आक्रमक देखिएका थिए । अनुभवी खेलाडीको साथ पाएको डिफेन्डिङ च्याम्पियन छथरले थुप्रै अवसरहरु सृजना गरेपनि जाली भने चुम्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको छ । जित सङ्गै सिरिजङ्गाले माङ्सेबुङ गाउपालिकाङ्गको भेट पक्का गरेको छ । सो पहिलो सेमिफाइनल खेल मङ्सिर १३ गते हुदैछ ।
इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा प्रतियोगिता जारी छ । सोमबारको खेल गोलबजार स्पोर्टिङ क्लब सिराहा र पाहुना टिम एम.एफ.सी. दार्जिलिङ भारतबीच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन् ।


160 पटक हेरिएको 









