पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद महोत्सवमा जुटयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ मा जुटेको छ ।

नगर खेलकुद विकास समिति, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा माघ ६ गतेदेखि माघ १५ गतेसम्म खेलकुद महोत्सव हुने बिहिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । फुटबल (महिला, पुरुष), भलिवल, क्रिकेट, बुद्धिचाल (चेस), तेक्वान्दो, कराँते र मिनि म्याराथन गरी ७ वटा विधामा प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव नविन खुलालले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुरुष तर्फको फुटबल प्रतियोगितामा पालिकामा दर्ता भएका १० वटा टिमले सहभागिता जनाउने भएका छन् । जातेमोडमा हुने फुटबल प्रतियोगिताका प्रथमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र फाइनलमा विधागत पुरस्कारहरू रहेका छन् । जसमा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ । महिला फुटबलमा २ वटा समूहले सहभागी जनाउनेछ । महिला खेलाडीहरूलाई प्रोत्साहनका लागि मात्रै भएपनि २ वटा टिम सहभागी गराएको आयोजकले जनाएको छ । महिला फुटबल प्रतियोगिताका प्रथम १० हजार र दोस्रो ५ हजार नगद ट्रफी, मेडल रहेको छ ।

क्रिकेटमा वडाका ९ टिमको सहभागिता रहेको छ । जिरिखिम्ती खेल मैदानमा हुने क्रिकेटको पहिलो हुने वडालाई २० हजार र दोस्रो हुने वडालाई १५ हजारसहित विधागत पुरस्कारहरू वितरण गर्ने आयोजकले बताएको छ ।

भलिवलमा ७ वटा टिम सहभागी हुने भएका छन् । जातेमोडमा हुने भलिवल खेलमा प्रथम हुने वडाले २५ हजार र दोस्रो हुने वडाले १५ हजारसहितको पुरस्करको व्यवस्था गरिएको छ ।

कराँतेमा पुरुष ३७ र महिला २० जना, तेक्वान्दोमा ५० जना, बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको र १ सयजना सहभागी पुग्नसक्ने अनुमान आयोजकले गरेको छ । कराँते र तेक्वान्दोमा प्रथम पुरस्कार ५ हजारका दरले रहने छ । कराँते र तेक्वान्दो उमेर समूह अनुसार हुने छ । बुद्धिचाल सिनभिलेज पार्टी प्यालेसमा हुनेछ ।

मिनि म्याराथनका लागि ३० जनाको नाम दर्ता भएको यसमा ५० जनासम्म पुग्ने अनुमान छ । मिनि म्याराथनमा प्रथम ६ हजार, दोस्रो ४ हजार र तेस्रो हुनेले २ हजारका दरले नगद पुरस्कार पाउने छन् । म्याराथनमा महिला र पुरुष दुवै सहभागीको अलग अलग मुल्याङ्कन गर्ने तयारी छ । मिनि म्याराथन माघ १२ गते शुक्रबार विहान गर्ने तयारी आयोजकको छ । पथरी बजार-लिची डाडा-बिष्णु चोक- बुद्ध चोक हुदै बजारको रूटमा म्याराथुन हुने समितिको अध्यक्ष दिपक राईले अवगत गराए । यो पहिलो वर्ष भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको खेलकुद विकास समिति संयोजक दिपक राईले बताए । महोत्सवमा सबै खेलप्रेमीहरूलाई सहभागी हुन् पनि संयोजक राईले अनुरोध गरे ।

यस्तैगरी सञ्चारकर्मी माझ फुटबल, क्रिकेट र भलिबल प्रतियोगिताको खेल तालिका पनि सार्वजानिक गरिएको छ ।
महोत्सवको उद्घाटन माघ ६ गते शनिवार दिउँसो १२ बजे प्रस्तावित पथरी रंगशालामा हुने आयोजकले जानकारी दिएको छ ।  नगरको वार्षिक स्वीकृत बजेटबाट महोत्सवका लागि १४ लाख ३१ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव तयार गरेको सदस्य सचिब खुलालले जनाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार