पथरी । पञ्चायत मावि पथरी शनिश्चरे मोरङमा बिहिवारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सो प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहेका नगर प्रमुख तुम्वापोले नगरपालिका भित्रका सम्पूर्ण निजी संस्थापक तथा सामुदायिक विद्यालयका छात्र छात्राहरुले अनुशासित र खेलको नियमानुसार आफूले रोजेको विभिन्न खेलकुद ” इभेन्टहरूमा” सहभागिता लिई पढाई सँग सँगै खेल क्षमता बृद्धि गर्दै भविष्यमा व्यवसायिक खेलाडीको रूपमा स्थापित हुन समेत शुभ कामना व्यक्त गरे । उनले खेल व्यवस्थापनका लागि संलग्न सम्पूर्णलाई सफलतापूर्वक विभिन्न खेल प्रतियोगिताहरूको संचालन गर्न पनि अनुरोध सहित निर्देशन दिए ।
रनिङ शिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवम् राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य शालिग्राम काफ्ले, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल, पञ्चायत माविका विद्यालय व्यवस्थापन समिति महासङ्घ एवंम् आयोजक विद्यालयका अध्यक्ष युवराज बाँस्कोटा, प्राचार्य अर्जुन कुमार बुढाथोकी, प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठ , वडाध्यक्षहरू क्रमशः नैना राई, जीवन खतिवडा, विजय लिम्बू , उद्धवराज बस्नेत, नगर खेलकुद विकास समितिका संयोजक दिपक राई लगायतका अतिथिहरूको उपस्थिति थियो।
तीन दिन दिवसीय पथरीशनिश्चरे नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता-२०८०मा १५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले विभिन्न खेलहरूमा सहभागिता जनाएका छन्।
आज भलिबल, कराँते, छेलो, म्याराथन, सटपुट, कबड्डी, लगायतका विभिन्न खेलहरू संचालन गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय झण्डा बोकेर विभिन्न विद्यालयहरुका विद्याथीहरूले मार्च पास गरेका थिए भने पञ्चायत माविका सिभिल इन्जिनियरिङ विधाका छात्र छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।




तस्वीरहरु: फिपराज बेघा।
।


106 पटक हेरिएको 








