प्रदेश सरकारले लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्छ: पत्रकार महासङ्घ मोरङ

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतको माग गरेको छ ।
आज नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई ज्ञापनपत्र बुझाउदै सो माग गरेको हो ।
महासंघले प्रदेश र स्थानीय सरकारका सूचना तथ विज्ञापन संघीयताको मर्मअनुसार स्थानीय सञ्चार माध्यमले नै प्राप्त गर्ने नीति र कानून निर्माण गरिनुपर्ने, विज्ञापनको क्षेत्रमा सरकारले गरिरहेको खर्चको ठूलो हिस्सा विचौलियाको हातमा गइरहेकोले सञ्चार माध्यमलाई सिधै समानुपातिक रुपमा विज्ञापन प्रदान गर्ने व्यवस्था गरिनुपर्ने, सञ्चार माध्यमलाई काठमाडौंबाट प्रकाशित भएपछि राष्ट्रिय हुने र काठमाडौं बाहिरका राष्ट्रिय नहुने भनी गरिने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने माग राखेको छ । सञ्चार क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक कानुनी र नीतिगत प्रबन्ध छिटोभन्दा छिटो गरिनुपर्ने र प्रदेश सरकारले यसअघि पत्रकार महासंघ शाखा कार्यालयहरुलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिनुपर्ने माग पनि शाखाले गरेको छ ।
अहिले सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोले सरकारको सहयोग आवश्यक रहेको महासंघका कार्यबाहक अध्यक्ष भट्टराईले बताए  ।
महासंघ शाखाको मागपत्र बुझ्दै कोशी प्रदेश सरकार प्रवक्तासमेत रहेका मन्त्री राईले पत्रकार महासंघले उठाएको मागहरु आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रदेशको संचार माध्यमलाई प्रवर्द्धन गरेर लानु पर्छ  भनेर प्रदेश सरकार लागि परिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार