पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको डम्पिङ साईडमा पक्राउ गरेको पिकअपको फोहोर बिहीबार डिस्पोज गरिएको छ । विर्ता सिटी अस्पताल बिर्तामोडबाट को २ च ३३२२ नम्बरको सवारी साधनमा ल्याइएको फोहार चैत्र २० गते नगर प्रहरीको गस्तीले राति ९ः४५ बजेको समयमा नियन्त्रणमा लिएको थियो । विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको सो गाडी रातको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो । डम्पीङ साइटमा आगो लगाएर स्थानीयवासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेकी गर्न टोली परिचालन हुँदा उनीहरुलाई पक्राउ गरिएको हो ।
गाडी चालक विनोद थारु र सहचालक शुशिल चौधरी पनि नियन्त्रणमा लिएर छोडिएको पथरी शनिश्चरे नगरपालिकाको वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईले बताए । अस्पतालबाट निस्किएको फोहोर मैला कुनै पनि डम्पीङ साइटमा छोड्न नहुने र सिर्जित फोहोरलाई डम्पिङ साईड लानु पूर्व अटोक ल्यावमा हिट दिएर स्टेजलाईजेसन गरेर मात्र डम्पिङ साईडमा लानुपर्ने पथरीशनिश्चरे नगरपालिका स्वस्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए । फोहोर मैला व्यवस्थापन ऐन २०६८ का अनुसार यस्ता किसिमका गतिविधि गर्नेलाई ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
पथरी शनिश्चरे नगरपालिकाको सरसफाईमा कार्यरत एक कर्मचारीको संलग्नता हुनसक्ने रहेको बताउदै प्रमाण पुगे कारबाही प्रक्रिया अगाडि बढाउने फोहोर मैला व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र राईले जानकारी दिए।


80 पटक हेरिएको 








