काठमाडौं । प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको वन्द शत्रमा महासचिव अवधेशकुमार झामाथि दुव्र्यवहार भएको भन्दै निन्दा गरेको छ ।
शनिवार मञ्चका अध्यक्ष कमन देवानले एक प्रेस विज्ञप्ति जारी गर्दै शिष्टाचारपूर्वक आफना भनाई राख्न उभिँदा झा प्रति गरिएको हेपाहा र ठालु प्रवृत्तिको भर्त्सना गरेका छन् ।‘कार्यक्रमको बन्दशत्रमा महासंघका पूर्व केन्द्रीय कार्य समिति सदस्य र केन्द्रीय पार्षद्का रूपमा सहभागी यस प्रेस मञ्च नेपालका महासचिव अवधेश झामाथि भएको दुव्यवहारप्रति प्रेस मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ–‘आफ्ना विषय राख्न समय माग गर्दै सम्मानित बन्दशत्रको हलमा शिष्टाचारपूर्वक उभिँदा समेत बेवास्ता गर्ने र अध्यक्ष मण्डलको हवला दिँदै निरंकुश शैलीमा ‘एक मिनेटमा विषयवस्तु राख्नु होला’ भन्ने जस्ता हेपाहा र अमर्यादित आदेश गर्ने महासंघको ठालु प्रवृत्तिको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ ।’
महासंघले प्रेस मञ्च नेपाल र प्रेस मञ्च नेपालका प्रतिनिधिहरुप्रति गरेको दुव्र्यवहार समग्रमा नेपालमा भइरहेको जातीय, नश्लीय, लैङ्गिक र क्षेत्रीय विभेदकै निरन्तरता भएको मञ्चका ठहर छ । ‘आवाजविहीनहरुको आवाज बन्नु पर्ने पत्रकारिता र पत्रकारका साझा र छाता संगठनले यस किसिमको रवैया प्रस्तुत गरिनुबाट ‘कतै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेर नथाक्ने संगठनबाटै उत्पीडित र दमितका आवाजहरु बन्द गर्ने काम त भइरहेको छैन ?’ भन्दै विज्ञप्तिमा प्रश्न उठाईएको छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघलाई विभेदकारी कार्यशैली सुधार गर्न र आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अल्पसंख्यक र पिछडिएको क्षेत्रका सवालहरुलाई समेत सुन्न र महत्व दिन ध्यानाकर्षण गराईएको छ ।


99 पटक हेरिएको 








