पथरी। हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङले सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी सञ्चालनमा ल्याएको छ।
सुकवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले पौडी पोखरीको गेटमा रहेको रिवन काटेर पोखरी उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा हरियाली वन पब्लिक लि.का अध्यक्ष दिलबहादुर तामाङ, नौमती वाजा समूहका संयोजक दीपक ढुगेल, आलेप संयोजक रमेश प्रसाद दाहाललगायतले शुभकामना व्यक्त गरेका छन् ।
बालबालिका र वयस्कलाई छुटाछुट्टै दुई वटा पौडी पोखरी निर्माण गरेको वनका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिए । बालबालिकालाई १ सय र वयस्कलाई २ सय रुपैयाँ पौडी खेलेको शुल्क र उपभोक्तालाई २५% छुटको व्यवस्था रहेको छ। पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ । अध्यक्ष मगरले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन ल्याएको जानकारी दिए ।
वनको सभाहलमा विवाह, पार्टी, भोज, सांगीतिक कार्यक्रमको लागि एसी सहितको सभा हल चालु अवस्थामा रहेको छ । पार्किङ, शौचालय, चमेना गृह, पर्यापर्यटन विकासको लागि सामुदायिक वनको कार्य योजना र डीपीआर अनुसार निर्माणको कार्य भइरहेको छ ।
वि.सं. २०७६ मा नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार हरियालीले प्राप्त गरिसकेको छ ।