
पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय पथरी शनिश्चरेले हरेक शुक्रबार ‘बुक फ्रि डे’ को रुपमा विभिन्न परम्परागत सीप सिकाउदै आएको छ।
पछिल्लो समयमा यस विद्यालयले हरेक शुक्रबार ‘बुक फ्रि ‘शिक्षासंग सीपमूलक कार्यक्रम गर्दै आएको हो । विद्यालयमा हप्तैपिच्छे फरक नयाँ नयाँ सीपमूलक सिकाइ उपलब्ध गराई रहेको छ । बाँसको चोयाबाट बन्ने डोको, मान्द्रो, फुर्लुङ, आदि बनाउने गरेको छन् भने सिलाई कटाई- बुनाई ,बोट विरूवाबाट प्राप्त हुने पातको प्रयोग गरेर परम्परागत दुना, टपरी, गाँसिने, श्रृंगारका सामाग्रीहरू पोते, माला ,धागो , बाती कात्ने, काष्ठकला, ग्रील, वोर्डिङ, आदि सीप सिकाउने संस्कारको विकास गरिएको विद्यालयका प्राचार्य वीरेन्द्र गुरूङले बताए। उनले शिक्षालाई सीपसँग जोडेर व्यवहारिक ज्ञान दिने विद्यालयको मुख्य उद्धेश्य रहेको र सोहि अनुसार अतिरिक्त क्रियाकलापमा सीपमूलक शिक्षा दिदै विद्यार्थीहरुको सर्वांगीण विकास सम्भव रहेको उल्लेख गरे।
वि. स.२०४८ सालमा स्थापना भएको सो विद्यालय पूर्व पश्चिम राजमार्ग अन्तर्गत ५ सय मिटर दक्षिणमा पथरी बजार भित्र अवस्थित छ। वि.सं २०६० सालदेखि यस विद्यालयमा संचालन भएको ‘प्लस – टु ‘ व्यवस्थापन संकाय संचलनमा रहेको छ।
हाल यस विद्यालयमा कक्षा पिजी देखि कक्षा -१२ सम्मका कक्षाहरुमा ६ सय बढि विद्यार्थीहरूले अध्ययन गर्दै आएका छन्। चार दर्जन बढी शिक्षक र कर्मचारी रहेको यो विद्यालय पथरीशनिश्चरे नगरकै सबैभन्दा पुरानो विद्यालयको रूपमा परिचित छ।
भूकम्प प्रतिरोधात्मक क्षमताको भौतिक संरचनाहरूले भरिपूर्ण यो विद्यालय मदन बहादुर थापा मगरले स्थापना गरेका थिए।