मोरङ, झापा र इलाममा चुम्लुङको ३६ औं स्थापना दिवस मनायो

पथरी । किरात याक्थुङ चुम्लुङ मोरङले चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३६ औं स्थापना दिवसको अवसरमा सोमबार पथरीमा कार्यक्रम आयोजना गरी छात्रवृत्ति वितरण गरेको हो ।

किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट दुई जनालाई उपलब्ध गराउँदै आएको रु. पाँच/पाँच हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति पथरी शनिश्चरे ४ मा अवस्थित भागीरथ माविकी  कक्षा १०मा अध्ययनरत छात्रा प्रतिमा चेम्जोङ र पथरी शनिश्चरे ३मा अवस्थित सामाजिक आविका कक्षा ९मा अध्ययनरत  प्रताप सुब्बाले पाएका छन् ।  चुम्लुङका संघीय उपमहासचिव योेगेन्द्र पालुङ्वाले थक्खे:मा मुन्धुम बाचन गरि उद्घाटन गरिएको कार्यक्रममा याक्थुङ युवा मञ्चकी केन्द्रीय सदस्य हाङमा बेघा , चुम्लुङ पथरी शनिश्चरेका कार्यवहाक अध्यक्ष गणेश थक्लुङ लगायतले सम्बोधन गरेका छन् । चुम्लुङ जिल्ला अध्यक्ष डिबी कुरुम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम चुम्लुङका कृष्ण मेन्याङबोले सञ्चालन गरेका छन् ।

झापाको दमकमा चुम्लुङको ३६ औं स्थापना दिवस भदौ १७ गते सम्पन्न गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति, जिल्ला समिति र दमक नगर समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा विविध कार्यक्रमका साथ स्थापना दिवस सम्पन्न गरिएको हो ।

किरात याक्थुङ चुम्लुङ सङघीय सल्लाहकार तथा पूर्व प्रदेश अध्यक्ष समाजसेवी ध्रुव सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न स्थापना दिवसमा लिम्बुवान प्रदेश सल्लाहकार अर्थशास्त्री एल.बि.पालुङवा, सल्लाहकार प्रेमदीप थाम्सुहाङले लिम्बुहरूमा हुनुपर्ने अर्थशास्त्रीय ज्ञान, त्यसको उपादेयता र राजनैतिक एकताको बहसको विषयमा एकता कसरी हुन सक्छ भन्ने विषयमा धारणा व्यक्त गरे ।

लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ फियाकले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य राखेका थिए भने नगर अध्यक्ष देवेन्द्र चेम्जोङले कार्यक्रम सञ्चालन गरेका थिए ।

पालाम अभियन्ता कियाचु संरक्षक सदस्य दासमाया लिम्बू, कर्मिला आङदेम्बे र प्रमिला फियाकले पालाम गाएर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए ।

किरात याक्थुङ चुम्लुङ इजरायल सहयोग कोषबाट चुम्लुङ स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति झापा जिल्लामा पनि वितरण गरिएको छ ।
मेचीनगर स्थित बालकल्याण माध्यमिक विद्ध्यालयमा कक्षा ७ मा अध्ययनरत मेचीनगर-५ निवासी छात्रा स्नेहा लिम्बूलाई प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ मेचीनगर नगर शाखाद्वारा आयोजित चुम्लुङको ३६ औं स्थापना दिवस समारोहमा प्रमुख अतिथि चुम्लुङका संघीय समितिका अभिषेक येक्तेनले नगद रू. १०,०००/- हस्तान्तरण गरेको हुन् ।

किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना दिवस झापाको कमलमा पनि मनाइएको छ ।

किरात याक्थुङ चुम्लुङ कमल गाउँ कार्य समितिको आयोजनामा कमल-५ स्थित मङगलवारेमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो ।

किरात याक्थुङ चुम्लुङ सङघीय सदस्य चन्द्रकला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न स्थापना दिवसमा प्रमुख अतिथि सुब्बा, विशेष अतिथि कियाचु झापा अध्यक्ष सेसेहाङ फियाक, जिल्ला सल्लाहकार सूर्य यक्पान्देन, कियाचु संरक्षक सदस्य नरेन हाङ् लिम्बू, जिल्ला सदस्य दिव्यकला थेवे नाल्वो, युवा समाजसेवी तथा कियाचु आजिवन सदस्य बसन्तराज सुब्बा लगायतले चुम्लुङको संक्षिप्त चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

कियाचु संरक्षक सदस्य नरेन हाङ् लिम्बूको विशेष संयोजन एवम् किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा आजिवन सदस्य भुपेन्द्र लावतीले स्वागत मन्तव्य राखेका थिए भने गाउँ शाखा सचिव शुक्र लावतीले कार्यक्रम सञ्चालन गरेका थिए ।

झापाको भद्रपुर नगर पालिका वडा नं. १ निवासी सरोज लिम्बूलाई किरात याक्थुङ चुम्लुङद्वारा छात्रवृत्ति प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ कल्याणकारी कोष-२०६२ द्वारा छात्रवृत्ति रकम नगद रू ५ हजार सहित प्रशंसा पत्र प्रदान गरिएको हो ।

भदरपुर-१ स्थित हिमाली मा.वि. मा कक्षा १० मा अध्ययनरत सरोज लिम्बूलाई नगद रकम सहित प्रशंसा पत्र किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर अध्यक्ष मुना इजम कन्दङवा लगायतका स्थानीय चुम्लुङ कार्यकर्ताहरूले प्रदान गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङ इलामले चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३६ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी विभिन्न तीन क्षेत्रको छात्रवृत्ति वितरण गरेको हो ।

चुम्लुङले स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न दिने रु १० हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति इलाम नगरपालिका-५ स्थित अमर माध्यमिक विद्यालय कक्षा-११ का सेसेहाङ लिम्बू जवेगूलाई प्रदान गरेको छ । सो छात्रवृत्ति सेसेहाङले अर्को साल पनि पाउनेछन् ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट कक्षा ६ देखि १० सम्म अध्ययन गर्न बर्सेनि प्रदान गर्ने रु १० हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति माङसेबुङ गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा-६ का छात्र लिहाङ माबोहाङले पाएका छन् । सो छात्रवृत्ति माबोहाङलाई ५ वर्षसम्म निरन्तर उपलब्ध गराईने किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

त्यसैगरी, किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट दुई जनालाई उपलब्ध गराउँदै आएको रु. पाँच/पाँच हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति माइजोगमाई गाउँपालिका-६ स्थित प्याङ माध्यमिक विद्यालय कक्षा-९ की मौसमी सोङ्मी र चुलाचुली गाउँपालिका-१ स्थित जनता माध्यमिक विद्यालय कक्षा-८ का सुनिल लावतीले पाएका छन् ।

उनीहरुलाई किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मोहनसिंह थेवेले नगद र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा थेवेसहित इलाम नगरपालिका-७ का वडाअध्यक्ष नरेश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ इलामका उपाध्यक्ष भक्त थामीलगायतले चुम्लुङको स्थापना दिवसको अवसरमा प्रदान गरिएको छात्रवृत्तिले शैक्षिक सुधारमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका थिए ।

यसैबीच, चुम्लुङको स्थापना दिवसको अवसरमा धाननाच, च्याब्रुङ नाच, पालामलगायत समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष पदम ताम्लिङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार