स्थानीय तह गैर दलीय हुनुपर्दछ: अध्यक्ष यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले स्थानीय तह गैर दलीय हुनुपर्ने बताएका छन् । स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन संविधान संशोधन आवश्यक रहेको उनले औल्याए ।

जनता समाजवादी पार्टी नेपालले मंगलबार विराटनगरमा आयोजना गरेको १ नम्बर प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन् । ‘ स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउनु पर्छ । त्यसका लागि संविधान संशोधन आवश्यक छ । संघीयता लागु भएको देशमा स्थानीय तह प्रदेश सरकार मातहत रहने संवैधानिक व्यवस्था छ । तर नेपाल मात्रै यस्तो देश हो जहाँ संघीयता छ । तर स्थानीय तह संघीय सरकारको मातहत छ । ‘  उनले भने, ‘ यो ठुलो संवैधानिक त्रुटि हो । यसलाई संविधान संशोधन गरेर सच्याउनु पर्छ । स्थानीय तह गैर दलीय हुनुपर्छ । ‘ अध्यक्ष यादवले उम्मेदवार र राजनैतिक दलले एक रुपैयाँ पनि खर्च नगर्ने गरी पूर्ण समानुपातिक निर्वाचत प्रणालीको पक्षमा जनता समाजवादी पार्टी नेपाल उभिएको बताए ।

जनतासँग–जनता समाजवादी पार्टी नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। जनता समाजवादी पार्टी नेपालको प्रदेश समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहअध्यक्ष रकम चेम्जोङ, महासचिव रामकुमार शर्मा, उपमहासचिव रेखा यादव, सचिव सुरेश मण्डल र शैलेन्द्र साह, कार्यकारिणी सदस्य जयराम यादव, केन्द्रिय सदस्य संजय सिंह, डा. के.के. राई, भोगेन्द्र यादव, पन्नालाल मण्डल, गोमा भुषाल, सुरेशप्रसाद सिंह गनगाईं, राजेन्द्रकुमार जबेगु, फुलमाया मोनाङ, हंसाकुमारी साह, हरिगोविन्द यादव, शिवबहादुर बस्नेत, सदिना खातुन लगायत सहभागी थिए ।

आजबाट १ नम्बर प्रदेशमा जनता समाजवादी पार्टी नेपालले जनतासँग–जनता समाजवादी पार्टी नेपाल ४ महिने संगठन शुद्धिकरण अभियान सञ्चालन भएको छ। जनता समाजवादी पार्टी नेपालले ४ महिने संगठन शुद्धिकरण अभियान अन्तर्गत ५ लाख संगठित सदस्य बनाउने लक्ष्यका साथ अभियानको शुभारम्भ गरेको हो । जसपा नेपालको एकताको प्रथम महाधिवेशनपछि गठित केन्द्रीय समितिको पहिलो बैठक साउन २७ देखि ३० गतेसम्म काठमाण्डौमा सम्पन्न भएको थियो । सो बैठकले भदौ महिनाबाट सुरु भएर मंसिरमा समापन हुनेगरी चार महिने ‘जनतासँग जसपा नेपाल: आधारभूत सङ्गठन निर्माण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रदेशको अन्य २ स्थानमा जनता समाजवादी पार्टी नेपालले अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले अभिमुखीकरण कार्यक्रममा कार्यकर्ताहरूलाई स्वागत गर्दै पार्टीको स्थापनाकालदेखि नै पार्टीलाई विभाजन गराउने शक्ति सक्रिय रहेकोले त्यसलाई चिरेर अगाडि बढ्न संगठन शुद्धिकरण अभियान सञ्चालन गरेको बताए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार