पञ्चायतमा जनचेतनामूलक प्रभातफेरी

पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले लागू पदार्थ र दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ।
शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अघिल्लो दिन ” बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरीमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्यार्थीहरुले विभिन्न नारा लगाएका हुन्। कक्षा -५ देखि १२ सम्मका विद्यार्थीहरुले विद्यालयबाट सुरूवात गरेको र्यालीले हनुमानचोक-शिखर चोक-बुद्ध चौकहरूमा ‘लागु पदार्थले जीवन बर्वाद गर्छ, आफ्नो जीवनलाई बर्वाद हुन नदिनुहोस्, लागु पदार्थ दुर्व्यसनीमा नफसौं, आदि नारा लगाउँदै बजार परिक्रमा गरेका थिए। सोहि क्रममा विद्यार्थीहरुले पसल पसलमा बढ्दो लागू औषध विरुद्ध हाम्रो सार्वजनिक अपिल’ भन्ने पम्पलेट बाँड्दै हिँडेका थिए। पम्पलेटमा भोला, गुडका, तमाखु, सुर्ती जन्य तथा अन्य नशालु वस्तुहरू बिक्री वितरण नगर्न आग्रह समेत गरेका थिए।
सोहि अवसरमा कक्षा १२, कानुन विषयकी छात्रा निवा चेम्जोङले लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको भन्दै लागूऔषध विरूद्ध सबै एकजुट भै लाग्न अनुरोध गरिन्।
सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले लागु पदार्थ दुर्व्यसनीबाट बचौं भन्ने अभिप्रायले विद्यालयका विभिन्न ८ समूहका विद्यार्थीहरुलाई सहभागी गराई जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज वास्कोटाले लागु पदार्थ दुर्व्यसनीबाट बालबालिकाहरूलाई बचाउन सकियो भने दुर्व्यसनी नियन्त्रण गर्न सकिने बताए ।
विद्यालयका शिक्षक शिक्षिका , ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी जवान, पूर्व विद्यार्थी संगठन, स्थानीय जनप्रतिनिधिलगायतले प्रभावफेरिमा सहभागिता जनाएका थिए । विद्यालयले दोस्रो चरणमा कक्षा ५ देखि मुनि र कक्षा ६ देखि माथिका विद्यार्थीहरूलाई दुईटा समूह बनाई विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार