
पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरूको अनुगमन तीव्र पारेको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा रहेको अनुगमन टोलीले वडा नं. १ को दामली स्टोर कोकाकोला डिलर, वडा नं. ७ को किर्तिपुर बजार, भातेगौडा, हसन्दह र शनिश्चरे बजारका किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गरिएको छ ।
अनुगमनकै क्रममा ३० वटा किराना पसलहरूको दर्ता भए नभएको, नविकरण गरे नगरेको पनि अनुगमनमा हेरिएको थियो भने दर्ता नगरेकालाई दर्ता गर्न सुझाइएको छ । यसैगरी अनुगमनका क्रममा पथरी शनिश्चरे वडा नं. ६ हसन्दह बजारमा चालु अवस्थामा रहेको जनचाहना पोलिक्लिनिक प्रा.लि. विना दर्ता सञ्चालन गरिएको पाइएको छ । सो पोलिक्लिनिकका सञ्चालकलाई आवश्यक कागजात सहित नगरपालिकामा दर्ता गराउन निर्देशन गरिएको नगरका स्वस्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिए ।
यस्तैगरी पथरी शनिश्चरे वडा नं. ४ शनिश्चरे बजारमा विगत धेरै वर्षअघिदेखि सञ्चालनमा रहेको शनिश्चरे डायग्नोष्टिक सेन्टर प्रा.लि. विना दर्ता सञ्चालन गरिएको पाइएको छ । व्यवसायको किसिम खुद्रा विक्रेता भनेर व्यवसाय प्रमाण–पत्र दर्ता गरेको तर नविकरण नगरिएको पाइएको छ । सो डायग्नोष्टिक सेन्टर प्रा.लि. सञ्चालन गर्ने अनुमतिका लागि कागजातहरु पूरा गरी दर्ता प्रक्रिया तुरुन्त अगाडि बढाउन सुझाइएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जनाए ।