पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन बारमा अन्तरक्रिया कार्यक्रम भएको छ । शनिवार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षमा नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन अन्तरक्रिया कार्यक्रम भएको हो । आवधिक योजना मस्यौदा प्रतिवेदन अन्त्ररक्रिया सुरु हुनुभन्दा अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले कार्यक्रमका बारेमा प्रष्ट्याए । कार्यक्रममा डा. गोकर्ण प्रसाद ज्ञवाली, डा. सुनिल आचार्य र हुमलाल भण्डारीले सहजीकरण गरेको कार्यक्रममा आवधिक योजनाको समग्र खाका, नगरपालिकाले उच्च प्राथमिकताका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने र नगरको गौरवको योजनाहरु बारेमा विस्तृत छलफल गरिएको थियो । विभिन्न शाखागत समूह बनाएर छलफल पश्चात् विषयगत सुझाव संकलन पनि गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति रुपनारायण भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका हिक्मत श्रेष्ठ र वडा नं. ९ का अध्यक्ष विरबहादुर राईले मन्तव्य राखेका छन् । अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल पत्रकार महासंघका प्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।