
माडसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७१औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द गोल्ड कप–२०८१’ आयोजना हुने भएको छ ।
प्रतियोगिता २०८१ मंसिर ९ देखि २० गतेसम्म माङसेबुङ गाउँपालिका ५ मा अवस्थित आत्मानन्द रंगशालामा संचालन गरिने आत्म पत्रिव हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुनेछन् ।
खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको छ । आत्मानन्द गोल्ड कपमा नेपालबाट श्री तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, माङसेबुङ गाउँपालिका इलाम र आयोजक युथ अफ माङसेबुङ रहेको छन् । यसैगरी भारतबाट एम.एफ.सि. दार्जिलिङ पाहुना टोलीको रुपमा खेलमा सहभागी हुने आङबुहाङले बताए ।
कपको विजेता टिमले नगद पुरस्कार रु. तीनलाख एघार हजार एक सय एकहत्तर .र उपविजेताले रु दुई लाख पाँच हजार एक सय एकहत्तर) सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा म्यान अफ द म्याच, बेष्ट किपर, बेष्ट प्लेयर र हाई स्कोररले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । आत्मानन्द गोल्डमा फुटबलको साथै म्याराथन, पक्लुङ, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायत खेलहरु आयोजना गरिने छ । खेल आत्म पवित्र हक्चात यक्चुम संयोजन र किरात धर्मगुरु ७१ औं शुभ जन्मोत्सव महान् समारोहको आयोजना रहेको छ ।