प्याब्सनले दुई सञ्चारकर्मीसहित सात जनालाई सम्मान गऱ्यो

पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर समितिले दुई पत्रकारसहित सात जनालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ।
शनिवार भएको प्याब्सनको तेस्रो नगर अधिवेशनले रातोकलम डटकम लेटाङका प्रधान सम्पादक अर्जुन जम्नेली राई, जमर्को साम्ताहिक पथरीका प्रकाशक/सम्पादक मोहन भट्टराईलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । सम्मानित पत्रकार भट्टराई नेपाल पत्रकार महासंघ मोरङको कार्यबाहक सभापति र जम्नेली नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समिति अनुशासन आयोगका प्रमुख तथा पञ्चायत माविका शिक्षक हुन् । गत एसईईमा जीपीए ४ ल्याउने सतिश आचार्य, अजय सुब्बा, कक्षा १२ मा सवैभन्दा बढी जीपीए ल्याउने मनिता कार्कीलाई नगरसहित पुरस्कार प्रदान गरिएको छ । तीनै जना विद्यार्थी रेडस्टार बोर्डिङ स्कुलबाट परीक्षा उत्तीर्ण गर्दै नगर प्रथम भएका थिए ।

त्यस्तै नगरमा लामो समय शिक्षण पेशामा आवद्ध भूपू सैनिक बोर्डिङ स्कुलकी शिक्षिका लक्ष्मी राना मगर र लामो समय निजी विद्यालयमा कर्मचारीको रुपमा काम गरिरहेका अन्नपूर्ण बोर्डिङ स्कुलका लेखा शाखा प्रमुख रामचन्द्र राना मगरलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित भएका छन् ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल, प्याब्सन प्रदेश अध्यक्ष टिकाराम ढकाल, नेपाल शिक्षक महासंघ नगर समितिका अध्यक्ष अर्जुन बुढाथोकी, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । प्याब्सन मोरङ जिल्ला अध्यक्ष प्रेमलाल सिंह सुवाल, प्रदेश समिति सहसचिव नोवलकिशोर खनाल, जिल्ला सल्लाहकार टिकाप्रसाद दंगाल, नगर समिति प्रमुख सल्लाहकार उपेन्द्र कडेल, जेसीज नगर अध्यक्ष राजकुमार तिरुवा लगायतको उपस्थिति रहेको अधिवेशनले नयाँ कार्यसमिति चयन पनि गरेको छ । प्याब्सन नगरमा २२ वटा विद्यालय आवद्ध रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार