
उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका सह अध्यक्ष रकम चेम्जोङले मुलुकलाई काँग्रेस र एमालेबाट खतरा रहेको बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका नेता चेम्जोङले बिगतमा गरेका भ्रष्टाचारका काण्ड लुकाउन सत्ता गठबन्धन गरेका दुई दलले उत्पीडित जनताका अधिकार खोस्दै मुलुकलाई संकटमा धकेलेको आरोप लगाएका हुन् ।
शनिबार मोरङको उर्लाबारीमा आयोजित जसपा नेपालको मोरङ १ क्षेत्रीय समितिको अधिवेशनलाई सम्बोधन गर्न आएका उनले संविधानमा आदिवासी जनजाति, मधेसी, महिला, दलितलगायत उत्पीडितले पाएका अधिकारलाई समेत खोस्ने मनसायले सत्ता गठबन्धन लागिरहेको दावी गरे । ‘जनता समाजवादी पार्टी, नेपालले मात्रै उत्पीडित समुदायका लागि लड्छ । त्यसैले यो उत्पीडितको पार्टी हो । यो शोषकहरुको पार्टी होइन’, चेम्जोङको भनाइ थियो ।
प्रदेश १ मा जारी नामाकरणको आन्दोलन सफल बनाउनु पर्ने जिकिर गर्दै उनले चन्द्र ढकालको आवरणमा राज्यले मुक्कुमलुङमा एउटा समुदायको धार्मिक आस्थामाथि प्रहार गर्ने र चोट पुर्याउने साम्प्रदायिक दमन गरिरहेको आरोप लगाए । ‘दुई सय जना प्रहरी राखेर दमन नगर्ने हो भने चन्द्र ढकाल एक्लैले केही गर्न सक्दैन । तर आज राज्य नै लागेर समुदायको आस्थाको पर्वतलाई ध्वस्त बनाउने, त्यसको प्राकृतिक स्वरूपलाई सिध्याउने गरी लागेको छ’, चेम्जोङले भने ।
कोशी नाम विरुद्ध र नो केबलकार आन्दोलनलाई सफल बनाउन जसपा नेपाल घटक संगठनका रूपमा डटेर लागेको र त्यसलाई सफल बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यत्रय कुन्ता राई, सदिना खातुन, शान्ता मोक्तान, प्रदेश अध्यक्ष दिपक याक्खा, केन्द्रीय लेखा आयोग सदस्य भवानी आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव सञ्जय राई, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलगायतले बोलेका थिए ।
उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्रको सभाहलमा आयोजित क्षेत्रीय अधिवेशनले देवराज थापामगरको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति चयन गरेको हो । समितिका उपाध्यक्षमा श्रीप्रसाद धिमाल, सचिव, उपसचिव र कोषाध्यक्षमा क्रमशः छगेन्द्र लिम्बू, सूर्यबहादुर माझी र मालती राई चयन भ एभने सदस्यहरुमा क्रमशः संगीता धिमाल, केशरमान राई, मनकुमार दनुवार, भिमबहादुर राई, राजेन्द्र मोगेल र संयोग लिम्बू रहेका जसपा नेपाल प्रदेश १ सदस्य विशाल आङ्देम्बेले जानकारी दिए ।
मोरङ क्षेत्र नम्बर १ को केराबारी, लेटाङ, मिक्लाजुङ र उर्लाबारीका पार्टी सम्बद्ध कार्यकर्ता सहभागी सो कार्यक्रममा धिमाल, दनुवार, सन्थाल जातिको साँस्कृतिक प्रस्तुतिसमेत राखिएको जसपा नेपाल उर्लाबारी नगर अध्यक्ष मातृका धिमालले बताए ।
सो कार्यक्रमका बीच पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालबाट उर्लाबारी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सदस्य निर्वाचित विश्वास राई र स्मृति दनुवारलाई समेत सम्मान गरिएको थियो ।