
पथरी । चैत २७ देखि सुरु भएको रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो दिनमा सातौ चरणको खेल सकिएको छ ।
७ चरणको खेल सकिदा नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र उदयमान खेलाडी रिसन थापा समान ६.५/७ अङ्कसहित क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । रुपेशले पथरीका गणेशबहादुर लिम्बू, अग्रिम खड्का, विराटनगरका उमेश राई, पथरी शनिश्चरे नगर च्याम्पियन निलम बस्नेत, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली र सीएम सुश्रुत दाहाललाई पराजित गरेका थिए भने काठमाण्डाैका राजन पुरीसित बराबरी खेलेका थिए । त्यसैगरी रिसनले वाल्मीकि स्कुल पथरीका सम्राट बस्नेत, बिर्तामोडका क्षितिज लिम्बू, दमककी कृतिसरा अधिकारी, पूर्व नेपाल च्याम्पियन सीएम नविन तण्डुकार, पुरुषाेत्तम सिलवाल र हेटौंडाका सीएम कृष्ण थापालाई पराजित गरेका थिए भने सीएम सुश्रुत दाहालसित बराबरी खेलेका थिए ।
उपाधि दौडमा सबैभन्दा अगाडि रहेका रुपेश र रिसन आज ८ औ चरणमा भिडन्त गर्नेछन् । खोटाङका धिरेन राई, पथरीका निलम बस्नेत, सीएम पुरुषाेत्तम चौलागाईं समान ६/७ अङ्कसहित क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।