वडा खेलकुद महोत्सव

पथरी । रैथाने खेल संरक्षण गर्ने उद्देश्यले पथरी शनिश्चरे वडा नम्बर ३ को कार्यालयको मुख्य प्रायोजनमा वडा खेलकुद महोत्सव-२०८१ को आयोजना गरिएको छ।

सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा चैत २९ गतेदेखि सुरु भएको महोत्सव आइतबार सकिएको छ । महोत्सवमा महिला विशेष लुङ्गी कप, डन्डिबियो, बाघ चाल, डोरी तान्ने, म्युजिक चेयर, पुरुष फुटबल, कराते प्रतियोगितासहित साङ्गीतिक कार्यक्रम पनि समेटिएको थियो ।

२ टिम मात्रै सहभागी लुङ्गी कप फुटबल प्रतियोगितामा सिरिजङ्गा स्पोर्टिङ क्लब विजयी बन्यो । थोक्फेलालाई ३-० को अन्तरले पाखा लगायो । सिरिजङ्गाबाट जानकी लिम्बू, ललिता लिम्बू, सर्मिला कटुवाल, धनु फियाक, बबी मगर, सुमिन घिसिङ्लगायत मैदानमा थिए। दिलुमा लिम्बू, रोशनी लिम्बू, शान्ति लिम्बुलगायतले थोक्फेलालाई जिताउन लागि परे पनि  सफल हुन सकेन । महिला सबै खेलाडीले लुङ्गी लगाएका थिए । खेललाई दर्शकहरूले औधी रुचाए । सिरिजङ्गा स्पोर्टिङका अध्यक्ष मौसम लिम्बुले लुङ्गी कपमा महिलाहरुको आकर्षक बढेकाले आउदो महोत्सवमा टिम सङ्ख्या बढाएर लुङ्गी कपको आयोजना गर्ने बताए । विजयी सिरिजङ्गाले नगद २१ सय, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो ।

डन्डिबियोका १३ स्पर्धी मध्ये संयोग थापा प्रथम भए । बाघ चालमा भने ६ जना सहभागी थिए। ती मध्ये मानबहादुर लिम्बुले उत्कृष्ट खेल प्रदर्शन गरे । डोरी तान्ने प्रतियोगितामा दिपहाङ लिम्बुलगायतको समूह प्रथम भयो । म्युजिक चियरमा भने १८ स्पर्धीलाई पछि पार्दै आयुसा राई उत्कृष्ट ठहरिन् ।

पुरुष फुटबल प्रतियोगितामा आयोजक सिरिजङ्गाले उपाधि रक्षा गर्‍यो । सडन डेथमा ५-४ गोल अन्तरले स्पर्धी भोटेघुम्ती एफसीलाई हरायो । निर्धारित समयमा गोलरहित टुङ्गियो। त्यसपछि भएको ट्राइबेकरमा पनि ४-४ गोल भएको थियो ।  सिरिजङ्गाले नगद १० हजार, मेडल, ट्रफी प्रमाणपत्र र उप विजेता भोटेघुम्ती फुटबल क्लबले नगद  ५ हजार १ सय, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्‍यो । ८ टिम सहभागी फुटबल प्रतियोगिता चैत २९ गतेदेखि सुरु भएको थियो ।

समाबेस कराते प्रतियोगितामा ६० जना प्रतिस्पर्धीले भाग लिएको कराते प्रशिक्षक सुरेन्द्र लिम्बुले जनाए । २० केजी तौल समूहतर्फ आदित राई प्रथम, रमेश ढकाल द्वितीय, सजिन तामाङ र अदित घले तृतीय भए । समय अभावको कारण भाले जुधाई प्रतियोगिता गर्न नसकेको आयोजकले बताएको छ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि वडा अध्यक्ष विजय लिम्बुलगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । वडा अध्यक्ष लिम्बुले वडामा पहिलो पटक  खेलकुद महोत्सव भएको र आगामी वर्षमा महोत्सवलाई थप प्रभाबकारी बनाउने बताएका छन् । गायिकाद्वय कर्मिला आङ्देम्बे, सृष्टि हिङ्माङ र गायक तारावीर पान्डेले गीत प्रस्तुत गरेर महोत्सवलाई मनोरञ्जन प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार