
ताप्लेजुङ जिल्ला हाङपाङ हेल्थ पोष्टमा सूचना बङ्ग्याएर जनताको सुसूचित हुने हकमाथि खेलवाड गरिएको पाइएको छ। उक्त हेपोको कक्षमा टाँसिएको एक सूचनापाटीमा स्थापनाकालदेखि हालसम्म त्यहाँ कार्यरत हेल्थपोष्ट इञ्चार्जहरूको नामावली भनी बीचको अवधिदेखिका नामावली मात्र राखेर स्थापनाकालदेखिका भनी जनता झुक्याउने काम भएको छ।
हालै स्थानीय एक सचेत नागरिक लामो समयपछि त्यहाँ पुग्दा उक्त नामावली देखेर चित्त नबुझेर मलाई उक्त नामावली भएको सूचनापाटीको फोटो खिचेर एक पूर्व इञ्चार्जका नाताले मलाई साझा गर्नुभयो। त्यो देखेपछि मेरो ध्यानाकर्षण भएको छ।
उक्त नामावलीमा हेपो स्थापना भएदेखि हालसम्मको ईन्चार्जहरूको नाम भनी भनिएको तर नाम अपूर्ण देखाएर सूर्यलाई हत्केलाले छेक्ने काम भएको छ। उक्त सूचना पाटीमा पहिलो ईन्चार्जको नाम यौवनकुमार प्रसाई र काल २०४४ सालदेखि देखाइएको रहेछ। तर त्यस संस्थामा म २०३७ सालदेखि २०४० सालसम्म (बीचमा गैरहाजिर) कार्यरत रहेँ। त्यहाँ म २०३७ सालमा हाजिर हुन आउँदा मोहनकृष्ण उदास सिअहेव हुनुहुन्थ्यो। उनीबाट मैले इञ्चार्ज बुझेँ। करिव अढाइ वर्ष सेवा गरेपछि २०४० सालमा म हाङपाङ हेल्थपोष्टबाट पाँचथर सरूवा भएर गएँ। मैले जाने बेलामा त्यसबेला मेरा सहयोगी स्वास्थ्यकर्मी अहेव हर्क सुब्बालाई इञ्चार्ज बुझाएको थिएँ। पछि त्यहाँ हेअ टेकराज कोइराला जानुभयो र लामो समय हाङपाङ हेल्थपोष्टमा सेवा गर्नुभयो। यी कालखण्डका नामावली खै त! यसरी सरकारी संस्थाले सूचना लुकाउन मिल्छ?
त्यत्ति मात्र हैन म त्यहाँ हाजिर हुन अघि नै त्यो संस्थाको नाम हाङपाङ हेल्थपोष्ट थियो। त्यहाँ सिअहेव उदासका अतिरिक्त अरू तीन जनाको नाम र मुहार मलाई अझै झल्झल्ती याद छ। सिअहेव झा र सिअहेव रामदयाल ठाकुरले हाङपाङ हेल्थपोष्टमा लामो काल सेवा गरे। झा डाक्टर यति राम्रो हिन्दी गीत गाउँथे कि उनले गीत गाएको हामी टाढैबाट बाटो हिँड्दा एकछिन अडिएर सुन्थ्यौँ। अर्का ठाकुर डाक्टर अलि मै हुँ भन्ने खालका थिए। म पनि तपाई नजस्तै हुने वा पढ्ने भनेर भन्दा त्यो असंभव भनेर हामीलाई निरुत्साहित पार्दथे। त्यसपछि आएका थिए सिअहेव रामप्रसाद ढुँगाना। यिनी यति मिलनसार थिए कि उनकै प्रेरणाले मैले काठमाडौँ गएर २०३४ सालमा महाराजगंजमा हेअ कोर्षमा भर्ना भएको थिएँ। मलाई उनकै सल्लाह बमोजिम मेरा गुरू प्रह्लादकुमार प्रसाईले काठमाडौँ पुर्याएर डेरा खोजेर, साथीभाइ चिनाएर, बाटो देखाएर फर्कनुभयो। मैले उहाँहरूकै मार्गनिर्देशमा नै सामान्य चिकित्सा प्रमाणपत्रतह पढेको थिएँ।
यसरी मुल्यांकन गर्दा करिव ३० दशकको आरम्भमै हाङपाङ हेल्थपोष्टको स्थापना भएको हुनुपर्छ। यसअघि यसको नाम हाङपाङ डिस्पेन्सरी थियो।त्यो कति सालमा हेल्थपोष्टमा परिणत भयो त्यसबारे खोज गर्नसकिन्छ। यसबारेमा थप र आधिकारिक जानकारी लिन कुनै गाह्रो छैन। निजामति कितावखानामा गएर रेकर्ड हेरेमा सबै छर्लङ्ग हुन्छ।
अन्त्यमा, हाङपाङ हेपोले यसरी हेपो स्थापनाकालदेखिका इञ्चार्जहरूको नामावली भनी अपूरो नामावली देखाएर जनतालाई दिग्भ्रमित गर्नु हुँदैन। जनताको सुसूचित हुने अधिकारलाई यसरी कुण्ठित पार्नुहुँदैन। यो कार्यलाई गलत मनशायले गरिएको अपराध मानिन्छ र दण्डनीय हुन्छ। अतः यसलाई सम्बन्धित निकायले तुरून्त सच्याउनु पर्दछ। सरकारी संस्था यसरी विवादमा आउनु शोभनीय हुँदैन। यस्ता निन्दनीय काम तुरून्त सुधार होस् भनी संबन्धितको ध्यानाकर्षण गराउँछु। धन्यवाद।