पथरी । युवा पुस्ताका महिलाहरुको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले पथरीशनिश्चरे ७ को आयोजनामा सेल्फ मेक–अप सीप विकास (ब्युटी पार्लर) तालिम सुरु भएको छ ।
पथरीशनिश्चरे १ स्थित क्युट कट ब्युटी पार्लर एण्ड एकाडेमीको प्राविधिक सहयोगमा एक सातासम्म तालिम सञ्चालन हुने जनाइएको छ । तालिममार्फत सहभागीहरुलाई अनुहार सौन्दर्य (फेसियल) हेयर कट, मेकअप, स्किन केयर, म्यानिक्योर, पेडिक्योर लगायतका आधारभूत ब्युटी सेवासम्बन्धी सीप प्रदान गरिने प्रमुख प्रशिक्षक रेखा बस्नेतले जानकारी दिइन् । उनका अनुसार तालिममा सहभागी दिदी बहिनीहरुलाई सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा प्रशिक्षित गराइनेछ । निःशुल्क दिइएको तालिममा ४५ जना महिला सहभागी छन् ।
सोमबार एक कार्यक्रमका बीच ७ नम्बर वडा कार्यालयको सभाहलमा वडाध्यक्ष उद्धव बस्नेतले तालिम उद्घाटन गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष बस्नेतले महिलाहरु घरमा मात्र सीमित नभई तालिमबाट सीप सिकेर आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । घरायसी काममै व्यस्त रहेका वडाबासी दिदीबहिनीरुलाई स्वरोजगार बनाउने हेतुले तालिम संचालन गरिएको बस्नेतले बताए । सौन्दर्य कला सिकेर आफैंमात्रै प्रयोगमा ल्याउन सकेमात्रै पनि महिलाहरुको सौन्दर्यमा हुने ठूलो धनराशी बचत हुने उनको भनाई थियो । वढा सचिव पवित्रा मिश्रले संचालन गर्नुभएको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु सपना राई, नरेशबहादुर राई, वडा प्राविधिक निशा खड्का, शिक्षासेवी सुमन अधिकारीलगायतको आतिथ्यता रहेको थियो । तालिमको सहयोगी संस्था क्युट कट ब्युटी पार्लर एण्ड एकाडेमीले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा अघि बढाउंदै आएको छ ।


4 पटक हेरिएको 




