हल्दिबारी(झापा) । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य हु भन्दै आफ्नो परिचय दिई विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने फन्दामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको परिचय दिने गरेका थिए। सोही परिचयका आधारमा धाकधम्की दिने गरेको आरोप छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विश्वकर्मा कुनै जिम्मेवारीमा नभएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका विश्वकर्मालाई अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले विश्वकर्माले झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी गराउन अनुरोधसमेत गरेको छ।


21 पटक हेरिएको 












