पथरी । `आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ: दृष्टिकोण बदलौँ´ भन्ने सन्देशका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा पथरी शनिश्चरे नगरपालिकामा सचेतना तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
नगर उपप्रमुख देबीमाया काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, कर्मचारी, तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा पथरी नगर अस्पतालका डा. रविन विश्वकर्माले आत्महत्याबारेको दृष्टिकोण परिवर्तन गरौँ भन्ने मूल विषयवस्तु आवश्यक रहेको बताए। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह प्राथमिकता दिँदै समस्यामा परेका व्यक्तिको कुरा सुन्ने, सहयोग गर्ने तथा आवश्यक परामर्श र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने जनाए । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। दिवसको अवसरमा कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले आत्महत्या सचेतना तथा रोकथाम सम्बन्धी आफ्नो मन्तव्य राख्नुभएको थियो भने इलाका प्रहरीले आत्महत्या रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि सचेतनामूलक र्याली आयोजना पनि गरेको थियो। प्रत्येक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आइएको छ।


16 पटक हेरिएको 












