झापामा सप्ताहव्यापी कार्यक्रम गर्ने तयारीमा झापा चुम्लुङ

दमक । किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवस झापामा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको छ ।

किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा र नगर, गाउँ शाखाको  साउन २० गते विर्तामोड नगर पालिका वडा नं. १ सिरिजङ्गा चौकस्थित जिल्ला चुम्लुङहिममा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । दिवस सम्पन्न गराउन किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूको संयोजकत्वमा २ हजार १ सदस्यीय जिल्लास्तरीय आयोजक समिति गठन गरिएको छ । संघीय सल्लाहकार जितबहादुर लावतीको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति समेत बैठकले निर्णय गरेको कुरा चुम्लुङ सचिवालयले जनाएको छ । सल्लाहकार समितिमा संघीय सल्लाहकार, संघीय सदस्य, राष्ट्रिय चुम्लुङ सदस्य, प्रदेश सल्लाहकार, प्रदेश सदस्य, संरक्षक सदस्य, विशिष्ठ सरक्षक सदस्य लगायत चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू रहनेछन् ।  जिल्ला शाखा कोषाध्यक्ष धिरावती लिम्बूको सयोजकत्वमा जिल्ला सह-सचिवद्वय शर्ण लोवा र शर्मिला आङ्देम्बेलगायत नगर र गाउँ अध्यक्षहरू सदस्य रहने गरि आर्थिक उप-समिति गठन गरिएको छ ।साप्ताहिक कार्यक्रममा जिल्लास्तरीय के ला:ङ् प्रतियोगिताको आयोजना गरिनेछ । प्रत्येक नगर र गाउँ शाखाबाट एक/एक टिम सहभागी गराइने के ला:ङ् प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई क्रमश: ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित प्रमाण पत्र प्रदान गर्ने समेत बैठकले निर्णय गरेको छ । साउन १२ गते कियाचु भवन, मेचीनगर, भदौ १३ गते कमल गाउँ पालिका वडा नं. ३, केर्खामा, भदौ १४ गते चन्द्रगढी भद्रपुरमा, भदौ १५ गते विर्तामोड नगर पालिका वडा नं. १ सिरिजङ्गा चौकमा, भदौ १६ र १७ गते विर्तामोड सिटी सेण्टरस्थित साई पार्टी प्यालेसमा कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार