पथरी । झुठा विल एवम् गलत प्रतिवेदन तयार गरि भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालत बबरमहल काठमाडौले सफाइको फैसला गरेसङगै बन समूहको नेतृत्वमा पुनर्बहाली भएका छन् ।
आइतबार एक कार्यक्रमका बीच शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको अध्यक्ष पदमा कुल बहादुर गुरुङलाई पुनर्बहाली गरिएको हो । बन पदाधिकारी तथा सदस्यहरुले खदा तथा अबिर लगाई दिएर गुरुङ्लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति चुरे पोखरी निर्माण उपभोक्ता समितिको अध्यक्ष रहदा गुरुङलगायतलाई भ्रष्टाचार गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगले बिशेष अदालतमा झुठा विल एवम् गलत प्रतिवेदन तयार गरि भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
०७७-सीआर-०१०६ नम्बरमा दायर गरेको मुद्दामा सरकार बादी र गुरुङलगायत प्रतिबादी बनाइएको थियो । गत साउन २३ गतेको अदालतको इजलासले सफाइ पाउने गरि फैसला गरेको हो । फैसलापछि डिभिजन बन कार्यालय मोरङले गत साउन ३० गते बिशेष अदालतको चलानी नम्बर ४९५(मिति २०८०/०४/२४) को पत्रअनुसार गुरुङले सफाइ पाउने ठहर देखिएकोले अध्यक्षको हैसियतमा कामकाज गर्न हुन भनी बनलाई बोधार्थ पत्र लेखेको छ । यस अघि बन कार्यालयले २०७८ साल भदौ ८ गते मुद्दा फैसला नभएसम्म गुरुङलाई अध्यक्षको हैसियतमा कामकाज नगर्न पत्र लेखेको थियो । त्यसपछि हेमभक्त तमुलाई कार्यबाहक अध्यक्षको जिम्मेवार सम्मालेका थिए । संखुवासभा चैनपुर १ (साबिक नुनढाकी २) मा ५३ वर्षअघि जन्मिएका गुरुङ २०७१ सालमा बन अध्यक्षमा पहिलोपटक निर्वाचित भएका थिए । अहिले दोस्रो कार्यकालको पदावधिमा नेतृत्वमा पुनर्बहाली भएका अध्यक्ष गुरुङले बन समूहलाई थप फलाउन फुलाउनको लागि सम्पूर्ण समिति एकजुट भएर थोरै समय भए पनि बिकासको काम गर्ने, बिधान पास गर्दै निर्वाचन गरी नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । मुद्दा अवधिभर करिब २ वर्ष ४ महिना अत्यन्तै पिडा ब्यथा भोगेको बताउदै उनले अदालतको फैसलाले न्याय दिएकोमा खुसी व्यक्त गरे ।



170 पटक हेरिएको 












