पथरी । पछिल्लो केही दिनयता मुलकभर गर्मी अत्यधिक बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले औषत दैनिक ३६ डिग्रीभन्दा बढी अधिकतम तापक्रम मापन गरिरहेको छ ।
गर्मी बढेसँगै हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरीमा घुइँचो देखिन थालेको छ । गर्मीको बेला स्वीमिङ खेल्दा शारीरिकदेखि मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा स्वीमिङ पुलमा घुइँचो लाग्ने गर्छ ।
गत जेठ २५ गतेदेखि सुरु भएको पोखरीमा आर्थिक वर्ष २०८०/८१ मा ४५ सय जनाले स्वीमिङ गरेको र स्वीमिङमार्फत ६ लाख आम्दानी भएको हरियाली कम्पनी लि. का प्रवन्ध निर्देशक रोहित बास्तोलाले जानकारी दिए । चालु आर्थिक वर्षमा १५ सय बढीले स्वीमिङ गरिसकेको र ४ लाख बढी आम्दानी गरिसकेको छ । ‘ दैनिक १५ /२० आम्दानी हुन्छ ‘ उनले भने ‘दैनिक १ सय-डेढ सयले स्वीमिङ गर्ने गर्दछन्। ‘ सस्तो, गहिरो, ठूलो र सुन्दर भएकाले हरियालीको स्वीमिङमा सेवाग्राहीको आकर्षण बढेको निर्देशक बास्तोलाको बुझाइ छ। स्वीमिङ गर्ने सबै भन्दा बढी उर्लाबारीबाट आउने गरेका छन् । पथरी शनिश्चरे, लेटाङ, कानपोखरी, वेलवारी, मिक्लाजुङ, सुनवर्षीदेखि पौडीको मज्जा लिन हरियाली आउने गर्दछन्।
पौडी पारखीहरुले आइसक्रिम आइटम र विभिन्न ब्राण्डका कुल्फीहरुको स्वाद लिन सक्छन् । बालबालिका र वयस्कको लागि छुटाछुट्टै दुई वटा पोखरी निर्माण गरिएको छ । बालबालिकालाई १ सय र वयस्कलाई २ सय रुपैयाँ पौडी खेलेको शुल्क र उपभोक्तालाई २५% छुटको व्यवस्था रहेको छ। पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ । वनका अध्यक्ष काबुलबहादुर मगरले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन ल्याएको जानकारी दिए । हरियालीमा विवाह, पार्टी, भोज, सांगीतिक कार्यक्रमको लागि एसीसहितको सभा हल चालु अवस्थामा रहेको छ । पार्किङ, शौचालय, चमेना गृहको पनि सुविधा छ ।
वि.सं. २०७६ मा नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार हरियालीले प्राप्त गरिसकेको छ ।


300 पटक हेरिएको 












