मुसहरघट्टाका पुल बनेपछि स्थानीयहरु हर्षित

हसन्दह । पथरी खोलामा पुल निर्माण भएपछि पथरी शनिश्चरे ६ मुसहरघट्टाका स्थानीयहरु हर्षित भएका छन् ।

खासगरी वर्षायाम असार, साउन भदौ र असोज सहितका ४ महिना पथरी खोलामा आउने बाढीले चिसापानी गाउँदेखि अर्को गेलाबारी गाउँमा पुग्न ४ –५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्ने बाध्यता थियो । ४१ मिटर लामो पीएस सीटी बिम ब्रिज निर्माण भएसँगै स्थानीय बासिन्दाहरूलाई यातायातमा सहज भएको स्थानीय मेघराज अधिकारी बताउँछन । उनले यो खोलामा पुल बनेसँगै सो क्षेत्रका स्थानीय बासिन्दाहरूलाई आफूले उत्पादन गरेको कृषि उपजहरू उत्तरमा पर्ने पथरी बजार वा दक्षिणको सुनवर्षी नगरपालिका (अमरदह बजार )सम्म पुर्याउन सजिलो रहेको उल्लेख गरे । पुल बने संगै अहिले सो बाटो हुँदै भातेगौडा-पथरी बजार आवत जावत गर्न यातायातको साधन चल्ने गर्दछ ।

संघीय सरकारको पहिलो किस्ता वापतको १ करोड ३३ लाख र पथरी शनिश्चरे नगरपालिकाको ३ करोड ४५ लाख रुपैयाँ गरी जम्मा ४ करोड ७८ लाख रुपैयाँ बराबरको लगानीमा पुलको निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै पथरी शनिश्चरे नगरपालिकाका वडा नं १, २, ३ ,४, ५, ६, ७, ८ तथा सुनवर्षी नगरपालिकाका आधा वडाहरूमा बसोबास गर्नुहुने स्थानीयवासीहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार