विराटनगर । प्रदेश १ मा सरकार अनुकुल मन्त्रालय थप घट हुने क्रम जारी छ । यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले ७ बाट बढाएर मन्त्रालयको संख्या १३ पुर्याए । सोमबारदेखि मन्त्रालय घटाएर ९ मा झारिएको छ ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने निणर्य गरेको हो । बिनाविभागीयमन्त्री भक्तिप्रसाद सिटौलाले जनइच्छा, मितव्ययिताको सिद्धान्तविपरीत अघिल्लो प्रदेश सरकारले बढाएको मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने आवश्यक प्रक्रिया पूरा गरेर कार्यान्वयनमा लग्ने निणर्य भएको बताए । प्रदेशको सेवा प्रवाह व्यवस्था सुधारका साथै प्रदेश सरकारको कामकाजलाई सुव्यवस्थित गर्न एक प्रशासनिक सुधार कार्यदल गठन गर्ने निणर्य गरिएको मन्त्री सिटौलाले बताए । उनले प्रमुख सचिवको नेतृत्वमा प्रदेश सचिवहरू रहने गरी सेवा प्रवाह र विकास व्यवस्था चुस्तदुरुस्त बनाउन अध्ययन गरेर २१ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको बताए ।
स्थानीय तहका कर्मचारीहरुको सेवा, सुविधा र सर्तहरू व्यवस्थित गर्न स्थानीय सेवा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, केही दिनदेखि सुरु भएको शीतलहरबाट प्रदेशमा कुनै किसिमको दुर्घटना वा क्षति हुन नदिनका लागि दाउरा बाँड्नेलगायतका व्यवस्था गर्ने निणर्य गरिएको बताए।


128 पटक हेरिएको 












