विराटनगर । शनिबार भएको निर्वाचनमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवार निर्वाचित भएकी छिन् । प्रदेश १ को उपसभामुखमा सत्तारूढ एमालेकी प्रदेश सांसद सृजना दनुवार निर्वाचित भएकी हुन् । दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको छ । सत्तारूढ एमालेकी मिना श्रेष्ठ मत दिनबाट बञ्चित भइन् ।
सभामुख गौतमले जनाउ घन्टी लगाउन दिएको समयभित्र प्रदेशसभा सदस्य श्रेष्ठ समयमा भित्र नपसेकाले बाहिर बस्नुपरेकाले मत विभाजनमा सहभागी हुन पाइनन् । सत्तारूढ एमालेका अर्का एक जना प्रदेश सांसद मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएकन हुन् । उनको नाम खुल्न बाँकी छ । दनुवार समानुपातिक कोटाबाट निर्वाचित भएकी हुन् । उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा मत राख्न एमालेले ह्विप लगाएको अवस्थामा उनीहरू मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएका हुन् ।
प्रतिपक्षी दलबाट कांग्रेसकी प्रदेश सांसद लिला राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५७ मत प्राप्त भयो । राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव बहुमतले अस्विकृत भएको सभामुख गौतमले घोषणा गरेका छन् । सभामुख गौतमले समय दिएपछि दनुबारलाई उपसभामुखमा निर्वाचित गराउन एमालेका प्रदेश सांसद तिलचन पाठकले सदनमा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमाथि माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर मगरले समर्थन गरेका थिए । कांग्रेसकी प्रदेश सांसद खगेश्वरी पौडेलले कांग्रेसकी राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव सदनमा पेस गरेकी थिइन् । उनको प्रस्तावमाथि नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद विद्या चाम्लिङ् राईले समर्थन गरेकी थिइन् ।
संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ ।


150 पटक हेरिएको 











