काठमाडौँ । एमालेबाट झापा २२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज घिमिरे सभामुखमा विहीबार निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् । सत्तारुढ पक्षबाट उम्मेदवार दिएको घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए । घिमिरेको पक्षमा १६७ मत पर्यो । विपक्षमा १०० मत पर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नेछन् ।


104 पटक हेरिएको 












